
धनगढी — कैदीबन्दीका दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कैलाली कारागारमा ४० घण्टापछि सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्।
शनिबारदेखि सुरु भएको हिंसात्मक घटनापछि कारागारभित्र प्रवेश गर्न कसैलाई अनुमति थिएन। कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका थिए। घटनामा एक जनाको मृत्यु र ४९ जना घाइते भएका छन्।

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीले मानव अधिकार आयोग प्रदेश कार्यालय, धनगढीको रोहवरमा संयुक्त रूपमा कारागारभित्र प्रवेश गरेका हुन्। सुरक्षाकर्मीहरूले कारागारको ब्लक ‘ए’ र ‘बी’ मा प्रवेश गरी भित्रको अवस्थाबारे खोजतलास सुरु गरेका छन्।
कारागारमा कैदीबन्दीको वास्तविक संख्या समेत स्पष्ट नभएकाले सुरक्षाकर्मी टोलीले गणना कार्य पनि गर्ने जनाएको छ।



