
कैलाली — समयमा कैदीहरूको स्थानान्तरण नहुँदा कैलाली जिल्ला कारागार रणभूमिमा परिणत भएको छ। भूपेन्द्र बडूवाल हत्याकाण्डका आरोपीहरूको कागजी सरुवा भए पनि वास्तविक रूपमा स्थानान्तरण नहुँदा गएराति ‘ए’ ब्लक र ‘बी’ ब्लकका कैदी समूहबीच झडप भएको हो।

कारागारका नाइकेले हत्या आरोपी मदन शाही, कपिल श्रेष्ठ र निशान्त मल्ललाई स्थानान्तरण गर्न सुझाव दिए पनि कार्यान्वयन नभएको कारागार स्रोतले जनाएको छ। झडपमा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ। चौधरी लागुऔषध मुद्दामा थुनामा थिए।
घटनामा ४७ जना घाइते भएका छन्, जसको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एकको अवस्था गम्भीर छ।
झडपपछि कारागारमा तनाव चर्किँदा घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई कैदीबन्दीहरूले भित्र जान दिएका छैनन्। उनीहरूले सिलिण्डर र रडसहित ढोकामा उभिएर प्रवेश रोक्दा टोलीले घटनास्थल निरीक्षण नगरी फर्किएको हो। मिडिया तथा पीडितका आफन्तहरूलाई पनि अस्पताल र कारागार क्षेत्रमा प्रवेश निषेध गरिएको छ।
डेढ सय कैदी क्षमता भएको यो कारागारमा हाल सात सयभन्दा बढी कैदीबन्दी रहेका छन्, जसले सुरक्षा चुनौती थपिएको प्रशासनको भनाइ छ।



