
काठमाडौं — प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापा प्रहरी उपरीक्षक (एसपी) पदमा एकल सिफारिस भएका छन्। पटक–पटक बढुवा सूचीबाट छुटिरहेका थापालाई बुधबार राति प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा सिफारिस गरेको हो।
यसअघि साउनको पहिलो साता भएको बढुवा सिफारिसमा थापा फेरि पनि छुटेका थिए। त्यो क्रममा उनीभन्दा दुई वर्ष जुनियर अधिकृतहरू एसपीमा बढुवा हुँदा समेत थापा सूचीबाट बाहिरिएका थिए। सोही साता सिफारिस भएका अधिकृतहरूले बुधबार दर्ज्यानी चिन्ह ग्रहण गरेपछि त्यही रात थापाको एकल बढुवा गरिएको हो।

थापा हाल प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन्। उनी २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। उनका ब्याचका सबै अधिकृत यसअघि नै एसपी बनिसकेका छन्, उनी भने आफ्नै ब्याचका अन्तिम डीएसपी थिए। अझ रोचक कुरा त के छ भने, थापा भन्दा दुई वर्ष जुनियर डीएसपीहरू समेत एसपी बनिसकेका छन्।
थापालाई यसअघि बारम्बार बढुवा सूचीबाट छुटाउँदै सिंहदरबार वृत्त जस्तो अति संवेदनशील स्थानमा पठाइएको थियो। अहिलेको सिफारिससँगै न्यायसंगत बढुवाको माग गर्दै आएका धेरै प्रहरी कर्मचारीबीच राहतको अनुभूति भएको बताइन्छ।



