
भरतपुर — कालिका नगरपालिका–७, जुटपानीमा रहेको प्रहरी चौकी अब स्तरोन्नति हुँदै इलाका प्रहरी कार्यालय बन्ने भएको छ। आवश्यक निर्णय भइसकेको र कार्यान्वयनको चरणमा रहेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिएका छन्।

हाल प्रहरी नायब निरीक्षक (सई)को कमान्डमा रहेको जुटपानी चौकी अब प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा रहने छ। हाल ९ जना जनशक्ति कार्यरत रहेकोमा दरबन्दी थपिएसँगै जनशक्ति वृद्धि गरिने एसपी पुरीले बताए।
कालिका नगरपालिकामा बढ्दो जनसंख्या र आपराधिक घटनाका कारण चौकी स्तरोन्नतिको माग विगतदेखि नै रहँदै आएकोमा यसपटक सम्बोधन हुने भएको छ। “पहिल्यैदेखि हाम्रो अनुरोध रहेको थियो, यसपटक सुनुवाइ भएको छ,” नगरप्रमुख विनोद रेग्मीले बताए।
प्रहरी चौकी जुटपानीले कालिका नगरपालिका वडा नं. ७ देखि ११ सम्मको सुरक्षा क्षेत्र सम्हाल्दै आएको छ। यसबाहेक, पदमपुर चौकीले कालिकाको अन्य भाग र इच्छाकामना गाउँपालिकाको वडा नं. ७ समेत सम्हाल्दै आएको छ।
आइजिपी र नगरप्रमुखबीच भेट
गत साउन १४ गते नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीबीच भरतपुरमा भेटवार्ता भएको थियो। सो भेटमा रेग्मीले कालिकामा प्रहरी निरीक्षक दरबन्दीसहितको चौकी स्थापना गर्न अनुरोध गरेका थिए।
मायाटारमा अस्थायी चौकी स्थापना हुँदै
चितवनको पहाडी भेगमा प्रहरी उपस्थिति सशक्त बनाउन इच्छाकामना गाउँपालिका वडा नं. २ मायाटारमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय गरिएको छ। “कालिकाको शक्तिखोर हुँदै उपरदाङगढी, मायाटारलगायत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ, स्थानीयको सुरक्षालाई ध्यानमा राखेर चौकी आवश्यक भएको हो,” एसपी पुरीले भने।
हाल इच्छाकामना क्षेत्रमा इलाका प्रहरी कार्यालय मुग्लिन, अस्थायी चौकी जलविरे, कुरिनटार र फिस्लिङमा रहेका छन्। अब पहाडको माथिल्लो क्षेत्रलाई लक्षित गरी मायाटारमा थप चौकी स्थापना गर्न लागिएको हो।
भण्डारा र माडीमा मुद्दा दर्ता सुरु
प्रहरी सेवा विस्तार अन्तर्गत गत साउन १ गतेदेखि इलाका प्रहरी कार्यालय भण्डारा र माडीमा मुद्दा दर्ता प्रक्रिया सुरु गरिएको छ। भण्डारामा हालसम्म ७ वटा मुद्दा दर्ता भइसकेका छन्।
कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले संयुक्त रूपमा जुटपानी प्रहरी चौकीको अनुगमन गरेका छन्। अनुगमनको क्रममा चौकीको अवस्था, जनशक्ति, दैनिक गतिविधि, स्थानीयसँगको समन्वय र आवश्यक सुधारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा उपप्रमुख विमला तामाङ, नगर प्रवक्ता लक्ष्मण पौडेल, शाखा अधिकृत प्रकाशचन्द्र पौडेल, इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रञ्जन अवा, साथै अन्य प्रहरी अधिकारीहरूको उपस्थिति थियो।



