
काठमाडौं — भारततर्फ मदिरा तस्करीका लागि सीमावर्ती गाउँमा भण्डारण गरिएको मदिराको गोदाममा प्रहरीले सर्च अपरेसन चलाउँदा सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार मध्यराति एक व्यक्ति प्रहरीको गोली लागी मृत भएका छन्।
गोली लागेर मृत्यु हुनेमा ३६ वर्षीय लालु यादव रहेका छन्। उनलाई प्रहरीले तिघ्रामा गोली हानेको थियो। गम्भीर घाइते अवस्थामा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार भारतसँग सीमा जोडिएको कमलपुर गाउँको एक छाप्रोमा ठूलो मात्रामा मदिरा भण्डारण गरेर भारत तर्फ तस्करी गर्न लागिएको सूचनाको आधारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो। तर सो क्रममा तस्कर समूहले प्रहरीलाई घेरा हाली आक्रमण गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार स्थानीयले समेत तस्कर समूहलाई साथ दिँदा प्रहरीले आत्मरक्षाका लागि पहिला हवाई फायर र पछि लक्षित फायर गर्नुपरेको थियो।
तस्करहरूको आक्रमणबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव र सहायक हवल्दार सिकेन्द्र थारुसहित अन्य प्रहरी पनि घाइते भएका छन्। सोही अपरेसनमा प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ।
मदिरा तस्करी: पुरानो तर बलियो जालो
भारतको बिहार राज्यमा मदिरामा पूर्ण प्रतिबन्ध लगाएपछि मधेसका सीमावर्ती जिल्लाहरू तस्करीको मुख्य मार्ग बनेका छन्। नेपाली मदिरा ब्रान्डहरूप्रति माग बढेसँगै सीमापार कारोबारीहरूको संगठित गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि २०७९ साल असोज १९ गते सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको मदिरा तस्करीसँग सम्बन्धित घटनामा हत्या भएको थियो। त्यस्तै, भारतीय सशस्त्र सीमा बल (एसएसबी) का हेड कन्सटेबल देवराज शर्माको स्कार्पियोले किचेर हत्या गरेको घटना र २०८१ मंसिर १६ मा सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण प्रसाद यादवको ट्याक्सीले किचेर मृत्यु भएको घटना पनि मदिरा तस्करीसँग जोडिएका छन्।
लागुऔषध नियन्त्रण चुनौतीकै रूपमा
मधेस प्रदेश लागुऔषधको ‘ट्रान्जिट’ बन्दै गएको प्रहरीको अध्ययनले देखाएको छ। जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो एक वर्षमा मात्र २३ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका लागुऔषध बरामद गरिएका छन्।
बरामद मदिरा र लागुऔषधमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र विभिन्न ट्याब्लेट, इन्जेक्सन र बोतलहरू परेका छन्। यस अवधिमा ५८४ वटा लागुऔषध मुद्दामध्ये ५२२ वटा फछ्र्यौट भएको जानकारी प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चुर्तुवेदीले दिए।
डीआईजी चुर्तुवेदीका अनुसार सीमा क्षेत्रमा संगठित तस्कर समूह सक्रिय छन्, जसले सुरक्षाकर्मीको ज्यान समेत लिन पछि पर्दैनन्। यस्ता जालोलाई भत्काउन आठै जिल्लामा प्रहरीले संयुक्त रणनीतिका साथ अभियान चलाइरहेको छ।
‘राजस्व छली र तस्करीको सञ्जाल अब पहिलाजस्तो छैन, तर अझै पूर्ण नियन्त्रणमा आएको छैन,’ उनले भने, ‘यसका लागि राज्यका सबै निकाय एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ।’
सप्तरीको राजगढमा भएको घटनाबारे बोल्दै डीआईजी चुर्तुवेदीले भने, “मानवीय क्षति पुर्याउने उद्देश्यले होइन, आत्मरक्षाको आवश्यकता भएकाले गोली चलाइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।”



