
काठमाडौं — सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको नेपाल एपीएफ क्लब र केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी लिमिटेडबीच पाँच वर्षे खेल पोसाक तथा सामग्री आपूर्ति सम्बन्धी सम्झौता भएको छ।
एपीएफ क्लबको परिसरमा आयोजित विशेष समारोहमा क्लब अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिम्सिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सन् २०१९ देखि नेपाल एपीएफ क्लबसँग सहकार्य गर्दै आएको केल्मीले यस सम्झौतामार्फत फुटबल, पुरुष र महिला भलिबल, यू-१६, यू-१८ पुरुष फुटबल, ग्रासरूट फुटबल र ब्याडमिन्टन खेलका लागि पोसाक तथा सामग्री उपलब्ध गराउनेछ।
सम्झौता अनुसार सशस्त्र प्रहरी बलका बहालवाला तथा भूतपूर्व कर्मचारी, सहिद परिवार, एपीएफ स्कुल, सशस्त्र प्रहरी परिवार महिला संघ, तथा एपीएफ क्लबमा आवद्ध खेलाडी, प्रशिक्षक तथा सदस्यहरूले देशभरका केल्मी नेपालका बिक्री केन्द्रहरूबाट २० देखि २५ प्रतिशतसम्मको छुट पाउनेछन्।
समारोहमा सशस्त्र प्रहरी बलका उच्च अधिकृत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। यो सम्झौता सन् २०३० अगस्ट ४ तारिखसम्म कायम रहनेछ।



