महोत्तरी, १८ साउन ।महोत्तरीको बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखाले गत आर्थिक वर्ष २०८१/८२ मा करिब तीन करोड रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको छ। एक वर्षको अवधिमा गरिएको निगरानी, चेकजाँच र अपरेशनका क्रममा ५५ जना अभियुक्त पक्राउ परेका छन् भने १६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको शाखा प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानि) सरोज अधिकारीले जानकारी दिनुभयो।

ब्युरोका अनुसार बरामद लागुऔषधमध्ये सबैभन्दा धेरै परिमाणमा गाँजा रहेको छ। कुल १५.१४ क्विन्टल गाँजा बरामद गरिँदा ६ जना पक्राउ परेका छन्। यस ओसारपसारमा प्रयोग भएका तीन थान मिनी ट्रक र तीन थान जीपसमेत नियन्त्रणमा लिइएको छ। बरामद गाँजाको अनुमानित मूल्य १ करोड ९९ लाख रुपैयाँ बराबर रहेको अधिकारीले बताउनुभयो।

त्यस्तै, इनफ्रेडिन नामक लागुऔषध ८५४ ग्राम बरामद गरिएको छ, जससँगै तीन महिला र दुई पुरुष गरी ५ जना पक्राउ परेका छन्। यसको अनुमानित मूल्य ६८ लाख ३२ हजार रुपैयाँ बराबर रहेको ब्युरोले जनाएको छ।

खैरो हिरोइनसमेत उल्लेखनीय परिमाणमा बरामद गरिएको छ। कुल ५४९.८५ ग्राम हिरोइनसहित ३९ जना पक्राउ परेका छन्, जसमा तीन महिला र दुई जना विदेशी नागरिक रहेका छन्। यस ओसारपसारमा प्रयोग गरिएका चार थान मोटरसाइकल र दुई थान एम्बुलेन्स पनि नियन्त्रणमा लिइएको छ। हिरोइनको अनुमानित मूल्य ४६ लाख ७३ हजार रुपैयाँ रहेको ब्युरोले जनाएको छ।

त्यस्तै, एम्पुल प्रकारका लागुऔषध ३,१४४ थान बरामद गरिएका छन्, जसमा दुई जना पक्राउ परेका छन् र दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएका छन्। एम्पुलहरूको अनुमानित मूल्य १२ लाख ८० हजार रुपैयाँ रहेको छ।

साथै, कोडिन मिश्रित लागुऔषध सिरप ३६४ बोतल बरामद गरिँदा तीन जना पक्राउ परेका छन्। यस ओसारपसारमा प्रयोग गरिएका दुई थान मोटरसाइकल नियन्त्रणमा लिइिएको छ। सिरपको अनुमानित मूल्य दुई लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ।

समग्रमा, बर्दिबासस्थित ब्युरो शाखाले एक वर्षको अवधिमा महोत्तरी, धनुषा, सर्लाही र सिन्धुली जिल्लाहरूमा निगरानी तथा चेकजाँचका क्रममा जम्मा दुई करोड ९९ लाख ५८ हजार रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको जनाएको छ।

प्रनानि अधिकारीका अनुसार यो सफलताले सीमा नाका तथा स्थानीय स्तरमा लागुऔषध ओसारपसार नियन्त्रणमा उल्लेखनीय योगदान दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय