काठमाडौं ।उपत्यका प्रहरीले सञ्चालन गरेको ‘गुण्डा अपरेशन’ अन्तर्गत ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई पक्राउ गरिएको छ।

शनिबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई सामाखुसीस्थित घरबाट नियन्त्रणमा लिएको हो।

बुधबार राति ठमेलको नगरकोट दोहोरी साँझमा दुई गुण्डा समूहबीच भएको झडपपछि प्रहरीले युवराज गुरुङ उर्फ ‘सानुभाइ’ सहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार क्लब सञ्चालक गुरुङ सोही घटनामा संलग्न रहेका थिए।

पक्राउ पर्ने अन्य दुईमा नुवाकोटको सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रविन्द्र गुरुङ र पाँचथर फिदिम नगरपालिका–१० का २६ वर्षीय दिलकुमार तुम्बाफो रहेका छन्।

२०८० साउनमा ओम्निया क्लबमै ‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङले क्लब सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेका थिए। सो घटनापछि पक्राउ परेका युवराज गुरुङ साउन १० मा धरौटीमा रिहा भएका थिए।

प्रहरीका अनुसार, गत बुधबार ‘सानुभाइ’ नगरकोट दोहोरी साँझमा रहेको सूचना पाएपछि बदला लिनका लागि ओम्निया क्लबका सञ्चालक गुरुङले रविन्द्र र दिलकुमारलाई त्यहाँ पठाएका थिए।

ती दुईजनाले दिएको बयानमा ‘हामीलाई क्लब सञ्चालक गुरुङले पठाएका हुन्’ भन्ने खुलासा भएपछि प्रहरीले गुरुङलाई समेत पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय