काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोको नेतृत्व सम्हालेपछि एसएसपी कृष्ण कोइरालाले कामको सुधार र परिणाममुखी प्रवृत्ति स्थापना गर्न महत्वपूर्ण कदम चालेका छन्।

एसएसपी कोइरालाले कार्यसम्पादनमा कमजोर देखिएका २५ जना प्रहरी कर्मचारीलाई ब्युरोबाट फिर्ता पठाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ब्युरोको कार्यप्रकृतिअनुसार परिणाम दिन नसक्ने प्रहरीलाई क्रमिक रूपमा पहिचान गरी हटाउने नीति अनुरूप काम अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार ब्युरोको स्वीकृत दरबन्दी ७८ जना भए पनि हाल ५१ जना मात्र दरबन्दीका रूपमा कार्यरत छन्। अन्य १५० जना प्रहरी कर्मचारीहरू विभिन्न युनिटबाट काजमा खटिएका छन्।

“म हाजिर हुँदा २२४ जना कर्मचारी थिए, अहिले त्यो संख्या २०१ मा झरिसकेको छ,” कोइरालाले भने, “ड्युटी सजिलो हुन्छ, युनिफर्म लगाउनु पर्दैन भन्ने सोचका साथ बसेका कर्मचारीहरूलाई पहिचान गरी फिर्ता पठाउँदैछौं। २४–२५ जनालाई पहिले नै पठाइसकेका छौं।”

उनले ब्युरो जस्तो संवेदनशील इकाइमा कार्य गर्ने प्रहरीलाई गम्भीरता, प्रतिबद्धता र परिणाममुखी कामको आधारमा मूल्याङ्कन गरिने स्पष्ट पारे।

“कार्य सम्पादनमा चुकेका कर्मचारीलाई फिर्ता गरेर जिम्मेवार र नतिजा दिने जनशक्ति परिचालन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

एसएसपी कोइरालाको यो पहललाई लागुऔषध नियन्त्रण प्रयासलाई प्रभावकारी बनाउने सकारात्मक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय