
काठमाडौं — अब नेपाल प्रहरीको अनलाइन सेवाहरू एनटीसी र एनसेल प्रयोगकर्ताका लागि पूर्ण रूपमा निःशुल्क उपलब्ध हुने भएका छन्। प्रहरी सेवाको पहुँच र प्रभावकारिता बढाउने उद्देश्यले नेपाल प्रहरीले नागरिकमैत्री सुविधा सुरू गरेको हो।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अब एनटीसी वा एनसेल प्रयोगकर्ताहरूले शून्य ब्यालेन्समै पनि प्रहरीको आधिकारिक वेबसाइट र उपडोमेनहरूमार्फत विभिन्न सेवा उपयोग गर्न सक्नेछन्।

यस सेवामा चरित्र प्रमाणपत्रका लागि आवेदन, गुनासो दर्ता, ट्राफिक जानकारी, हराएका वस्तु वा व्यक्ति सम्बन्धी सूचना, इ-फारम, इ-सिफारिस लगायतका सेवा समावेश छन्।
नेपाल प्रहरीले यो सुविधा लागू गरेसँगै डिजिटल माध्यममार्फत प्रहरी सेवा सर्वसाधारणको पहुँचमा ल्याउनेतर्फ एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसबाट प्रविधिमा आधारित नागरिक सेवा विस्तार र ‘स्मार्ट पुलिसिङ’को अवधारणा कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




