काठमाडौं — गृह मन्त्रालयले सरुवा भई नयाँ कार्यस्थलमा एक महिनासम्म पनि हाजिर नभएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे सूचना जारी गरेको हो। मन्त्रालयले आज (बिहीबार) आफ्नो वेभ पोर्टलमार्फत सूची सार्वजनिक गर्दै सम्बन्धित कर्मचारीहरूलाई तत्काल खटाइएको कार्यालयमा हाजिर हुन भनिएको छ।

२४ घण्टे उर्दीमा परेका कर्मचारीमध्ये १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बा रहेका छन्। असार १६, असार १८ र साउन ७ गते गरिएका सरुवा निर्णयअनुसार पदस्थापन गरिएका ती कर्मचारीहरू तोकिएको कार्यस्थलमा हालसम्म नहाजिर भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरुवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना।”

मन्त्रालयले निर्देशनको पालना नगरे कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ। कर्मचारी प्रशासनमा देखिएको लापरवाही र समयमै जिम्मेवारी सम्हाल्न नसक्ने प्रवृत्तिको नियन्त्रणका लागि गृह मन्त्रालयको यो कदमलाई कडाइका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय