सुनसरी — नेपाल–भारत सीमा क्षेत्रमा बढ्दो चोरी तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्न सुनसरी जिल्लामा दैनिक निगरानी कडा पारिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जिल्लाको ६१.९ किलोमिटर लामो सीमा क्षेत्रमा चोरी पैठारी रोक्न जिल्ला सुरक्षा समितिको बैठक बसेको र त्यसपछि दैनिक निगरानी बढाइएको हो।

सुनसरीमा एकवटा मुख्य भन्सार र तीनवटा छोटी भन्सार छन्। यद्यपि खुला सीमाका कारण चोरी तस्करी र आपराधिक गतिविधि न्यूनीकरणमा थप सजगता अपनाइएको प्रजिअ मिश्रले जानकारी दिए।

हाल सीमा क्षेत्रमा १३ वटा नेपाल प्रहरी युनिट र सशस्त्र प्रहरी बलका ११ युनिट परिचालनमा छन्। उनीहरूलाई २४ घन्टा चनाखो भएर काम गर्न निर्देशन दिइएको छ।

सीमा क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुननकुमार तिम्सिना, सशस्त्र प्रहरी बलका एसपी निर्मलकुमार थापा र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विमल घिमिरेको टोली सक्रिय रूपमा लागेको छ।

प्रजिअ मिश्रका अनुसार तस्करहरूसँग मिलेमतो गरी भन्सार छल्ने प्रहरीहरूलाई पनि तत्काल कारबाही गरिनेछ। साथै, चोरी पैठारी र आपराधिक गतिविधिमाथि शून्य सहनशीलता नीति अवलम्बन गरिएको उनले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय