भैरहवा —रुपन्देही जिल्लामा आर्थिक वर्ष २०८१/८२ को अवधिमा सवारी दुर्घटनाबाट १२१ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमध्ये ९८ पुरुष र २३ महिला छन्।

उक्त आर्थिक वर्षमा जिल्लाभर ८०२ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले जानकारी दिइन्। ती दुर्घटनामा १ हजार १६२ वटा सवारीसाधन संलग्न थिए।

प्रमुख केसीका अनुसार सुविधासम्पन्न सडक भए पनि चालकको लापरवाही र तीव्र गतिका कारण दुर्घटना दर उच्च रहेको छ। दुर्घटनामा सबैभन्दा बढी ७९५ वटा मोटरसाइकल संलग्न भएका छन्।

सो अवधिमा ५० हजार ४४१ सवारीसाधन ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि कारबाही गरिएको छ।यसबाट ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसमध्ये तीव्र गतिमा सवारी चलाउनेबाट मात्र ३१ लाख रुपैयाँभन्दा बढी राजस्व उठाइएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले २ हजार २१० वटा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

त्यस्तै, बुटवल–भैरहवा सडक खण्डको सखुवानी क्षेत्रमा ANPR क्यामेरा र राडारगन जडान गरी २४ सै घण्टा तीव्र गतिमा चल्ने सवारीसाधनको निगरानी र कारबाही भइरहेको छ।

साथै, ट्राफिक जरिवाना भुक्तानी डिजिटल प्रणालीमार्फत गर्न मिल्ने सुविधा पनि सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय