काठमाडौं — प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा गरिएको बढुवा सिफारिसविरुद्ध प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेतले उजुरी दिएका छन्। बस्नेतले प्रहरी नियमावलीको दफा ४२ अनुसार बढुवा सिफारिसविरुद्ध औपचारिक उजुरी दर्ता गराएका हुन्।

गत साउन ५ गते बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो। तर बरियताका हिसाबले पहिलो नम्बरमा रहेका एसपी बस्नेत सिफारिस सूचीमा नपरेपछि उनले आपत्ति जनाउँदै उजुरी दर्ता गराएका हुन्।

एसपी बस्नेतका ब्याचका धेरै प्रहरी अधिकृतहरू हाल डिआइजीसम्म पुगेका छन्। यसअघि पनि पटक–पटक बढुवाबाट छुट्दै आएका उनी यसपटक पुनः सिफारिसमा नपरेपछि उजुरीमा गएका हुन्।

प्रहरी नियमावलीअनुसार एसएसपी बढुवासम्बन्धी उजुरीको सुनुवाइ लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा गठित समिति द्वारा गरिन्छ, जसमा मुख्यसचिव र कानून सचिव सदस्य रहने व्यवस्था छ।

अब सो समितिले उजुरीको फर्स्यौट गरेपछि मात्र एसएसपी पदको बढुवा टुंगो लाग्नेछ। एसएसपीको बढुवा रोकिँदा सोही दिन (साउन ५) सिफारिस गरिएका ११ जना डिएसपीको एसपीमा र १३ जना निरीक्षकको डिएसपीमा बढुवाको प्रक्रिया पनि प्रभावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय