
काठमाडौं —आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीका २ हजार ३ सय ६९ जना सुरक्षाकर्मीले राजीनामा दिएका छन्। प्रहरी जवानदेखि अधिकृत तहसम्मका पदाधिकारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।
प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार, सरुवा, बढुवा, वृत्तिविकासमा देखिएको असन्तुष्टि र वैदेशिक रोजगारीतर्फको आकर्षण प्रमुख कारण हुन्। कतिपय प्रहरी व्यक्तिगत कारण, आकर्षक तलबसहित विदेश जानका लागि वा विभागीय कारबाहीबाट जोगिन पनि राजीनामा दिएको पाइएको छ।

आइतबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा डिआईजी घिमिरेले भने, “केही प्रहरी अनुशासनविपरीतको कार्यमा मुछिएपछि कारबाहीको प्रक्रियामा रहेकै बेला सेवाबाट अलग भएका छन्।”
देशभर ५८ हजार बढी उजुरी, हत्या र बलात्कारका २८ सयभन्दा बढी मुद्दा
२०७८/८२ को आर्थिक वर्षमा प्रहरी कार्यालयहरूमा ५८ हजार ४ सय ७२ वटा आपराधिक उजुरीहरू परेका छन्। तीमध्ये ५ सय १० वटा मुद्दा योजनाबद्ध हत्या अभियोगमा दर्ता भएका छन्।
त्यस्तै,
- जबर्जस्ती करणीका मुद्दा: २,३८७
- मानव बेचबिखन: १५२
- अपहरण: १४२
प्रत्येक दिन औसतमा १६० मुद्दा प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको प्रहरीको तथ्यांक छ।
आत्महत्याका घटनामा डरलाग्दो वृद्धि
उक्त अवधिमा आत्महत्या गरेका व्यक्तिको संख्या मात्रै ६ हजार ८ सय ५२ पुगेको छ। यो तथ्यांक गम्भीर सामाजिक समस्या र मानसिक स्वास्थ्यको उपेक्षा दर्साउने भन्दै प्रहरी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
साइबर अपराध र इन्टरपोल रेड नोटिस
साइबर अपराधसम्बन्धी ११२ मुद्दा दर्ता भएका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत ३४ जनाविरुद्ध रेड नोटिस जारी गरिएको छ भने विदेशबाट २० जना अभियुक्त पक्राउ गरी नेपाल ल्याइएका छन्।
नेपाल प्रहरीले अपराध न्यूनीकरण, डिजिटल अपराध नियन्त्रण, मानव बेचबिखन रोकथाम, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि कार्ययोजना बनाएको बताइएको छ।



