
कोशी प्रदेश — लागुऔषधको बढ्दो कारोबारले समाजमा नकारात्मक असर पार्न थालेपछि प्रहरीको निरन्तर अभियानका क्रममा झन्डै दुई हजार व्यक्ति पक्राउ परेका छन्। सामाजिक अपराध बढ्न थालेपछि कोशी प्रदेश प्रहरीको विशेष सक्रियतामा लागुऔषध नियन्त्रणको प्रयास तीव्र पारिएको हो।
भारतसँग खुला सीमा जोडिएका जिल्ला हुँदै ब्राउन सुगर, चरेस, नाइट्राभेट, स्पास्मो, डाइजापाम लगायतका मनोउत्तेजक औषधि भित्रिने क्रम रोकिएको छैन भने नेपालबाट भारततर्फ गाँजा तस्करीको प्रवृत्ति अझै कायमै छ। यही सञ्जाल तोड्न प्रदेश प्रहरीले गत वर्ष विशेष मिहिनेत गरेको देखिन्छ।

कोशी प्रदेश प्रहरीद्वारा उपलब्ध तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा १,९८५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्, जसमा १,८८८ पुरुष र ९७ महिला छन्। यद्यपि पक्राउ पर्ने अधिकांश व्यक्ति साना स्तरका ‘भरिया’ र प्रयोगकर्तामात्रै छन्। तस्करीको मूल सञ्जाल भने अझै पूर्णरूपमा भत्किन सकेको छैन।
प्रहरीको सक्रियताले ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ। असार मसान्तसम्म पाँच किलो ४८९ ग्राम ब्राउन सुगर, ६ लाख १५ हजारभन्दा बढी लागुऔषध चक्की र क्याप्सुल बरामद गरिएको छ। त्यस्तै, प्रदेशभरबाट २६ हजार ७०५ किलो गाँजा नियन्त्रणमा लिइएको छ, जुन सिमा नजिकका जिल्लाबाट तस्करी हुँदै आएको हो।
विशेषगरी धनकुटा, भोजपुर, र उदयपुर जिल्लामा अवैध रूपमा व्यावसायिक गाँजाको खेती हुने गरेको पाइएको छ। ती क्षेत्रबाट कोशी नदीको बहाव र विभिन्न सवारी साधनमार्फत गाँजा तराईसम्म ल्याई भारततर्फ तस्करी गरिन्छ। प्रहरीको आशङ्का अनुसार यसमा संगठित गिरोहको संलग्नता छ, तर ती गिरोहको मूलसम्म पुग्न प्रहरीले अझै सफलता पाउन सकेको छैन।
पूर्वी तराईका झापा, मोरङ र सुनसरीका ग्रामीण क्षेत्र हुँदै भारततर्फ गाँजा तस्करी हुने क्रम निरन्तर चलिरहेको छ। प्रहरीले गाँजा उत्पादन हुने क्षेत्रका बोटहरू वर्षेनि काटेर नष्ट गर्दै आएको भए पनि उत्पादन र तस्करीको चक्र रोकिएको छैन। गतवर्ष मात्र १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोटहरू नष्ट गरिएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार लागुऔषधको कारोबारले हत्या, लुटपाटजस्ता गम्भीर अपराधमा वृद्धि ल्याइरहेकाले प्रहरी यसको नियन्त्रणमा विशेष सक्रिय छ। “लागुऔषध ओसारपसार रोक्न राजमार्ग, भित्री सडक र सीमा क्षेत्रमा कडा निगरानी राखिएको छ,” डीआईजी कार्कीले बताए।
प्रहरीका अनुसार एम्बुलेन्स, तरकारी बोक्ने गाडी, पेट्रोल ट्याङ्कर, यहाँसम्म कि मानिसको मलद्वारभित्र लुकाएर समेत लागुऔषध ओसारपसार हुने गरेको पाइएको छ। नक्कली सरकारी नम्बर प्लेट प्रयोग हुने तथा एम्बुलेन्स प्रयोग हुनुले यो धन्दा कति संगठित छ भन्ने स्पष्ट हुन्छ।
यद्यपि हजारौं पक्राउ र ठूलो परिमाणमा लागुऔषध बरामद भए पनि पूर्व–पश्चिम राजमार्ग आसपासका बस्तीहरूदेखि धरान, केराबारी, दमक र बिर्तामोड जस्ता शहरी तथा ग्रामीण क्षेत्रहरूमा यसको प्रयोग र कारोबार कम हुन सकेको छैन। प्रहरी तस्करीको मूल जालसम्म पुग्न असफल हुँदा आयात–निर्यात नियन्त्रणको प्रयास पूर्णरूपमा सफल हुन सकेको छैन भन्ने सरोकारवालाहरूको चिन्ता बढ्दो छ।



