
सुरक्षा सरोकार — जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८१–०८२ मा ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ।
एक वर्षको अवधिमा नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनमाथि कारबाही गर्दा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो।

जिल्ला ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रुपैयाँले बढी हो।
गत वर्ष २०८०–०८१ मा १५ हजार ८ सय ४२ सवारीसाधनमाथि कारबाही गरेर १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रमुख सुनारले बताए।
यस वर्ष संकलित राजस्वमध्ये सबैभन्दा बढी ५४ लाख २६ हजार रुपैयाँ मोटरसाइकलबाट उठाइएको हो भने जीप–कार–भ्यानबाट २३ लाख ४६ हजार ५ सय, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय, बस तथा मिनी बसबाट १४ लाख ४४ हजार ५ सय र ट्याक्टरबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत जनाएको छ।
यस आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमध्ये ६ हजार ७ सय ५० वटा मोटरसाइकल, ३ हजार ७२ जीप–कार–भ्यान, २ हजार ८ सय ६१ ट्रक–टिपर, २ हजार २५ अटो टेम्पो, १ हजार ६ सय १४ बस/मिनी बस र ८ सय २९ ट्याक्टर रहेको जनाइएको छ।
यस्तै, गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या भने घटेको ट्राफिक रेकर्डमा उल्लेख छ। २०८०–०८१ मा ६ सय ७३ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु र १ हजार १ सय ८४ जना घाइते भएका थिए भने २०८१–०८२ मा दुर्घटनाको संख्या घटेर ४ सय २३ मा झरेको भए पनि मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
तीमध्ये २९ पुरुष, ६ महिला, १ बालक र ३ बालिका रहेका छन्। मृतकमध्ये १२ जना चालकसमेत छन्। घाइतेको संख्या भने घटेर ९ सय ३६ रहेको ट्राफिक प्रमुख सुनारले बताए।
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ हजार ५ सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख १३ हजार १ सय २ सवारी चालक, सहचालक र पैदलयात्री लाभान्वित भएका छन्।
क्याम्पस, विद्यालय, चालक, सहचालक, सवारीधनी र पैदलयात्रीहरू लक्षित ती कार्यक्रमले जनचेतना अभिवृद्धिमा सघाउ पुर्याएको प्रमुख सुनारले बताए।
सुनारले सुर्खेत ट्राफिक प्रमुख सम्हाले यता दुर्घटना क्षेत्र पहिचान गरी संरचना सुधारका साथै जानकारीमूलक बोर्डहरू राखेको छ भने गति नियन्त्रणका लागि राडर गनको प्रयोग, टीसीएमार्फत कारबाही, ला.प.से. र मा.प.से. जाँचमा कडाइ, ८ सय ८६ वटा रोड फर्निचरको व्यवस्थापन, ८४ वटा मोडिफाइड तथा चर्को आवाजमा चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको छ।
प्रविधिमैत्री ट्राफिक प्रशासन विकास गर्न ई–चलान प्रणाली, अनलाइन ट्राफिक सचेतना, ट्राफिक लाइट जडान लगायतका कार्यहरू गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
यसरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१–०८२ मा ट्राफिक अनुशासन, प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिमार्फत दुर्घटना न्यूनीकरण र राजस्व संकलन दुबैमा प्रशंसनीय प्रगति गरेको छ।



