
जनकपुर, साउन ८ – जसपा नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का बीचको विवाद साम्य नहुँदै सर्लाही प्रहरीले लागुऔषध कारोबारीलाई जोगाएको आरोप थपिएको छ।
लागुऔषध मुद्दामा अनुसन्धान कमजोर बनाएको र कारोबारीलाई मुद्दाबाट बचाएको आरोप सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामले यस विषयमा औपचारिक छानबिन थालेको हो।

सर्लाही जिल्लाभर रहेका प्रहरी युनिट इन्चार्जहरूको संलग्नतामा भएको भनिएको लागुऔषध तस्करी, लापरबाही र अनियमितताले सर्लाही प्रहरीमाथि गम्भीर प्रश्न उठाएको छ। पछिल्लो घटनामा हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले ठूलो परिमाणमा बरामद लागुऔषध कम देखाएर मुख्य कारोबारीलाई जोगाएको आरोप छ।
२०८१ चैत २४ मा हरिवन–३ डाबरीटोलका मानबहादुर घिसिङको साथबाट प्रहरीले सात सय बोतल प्रतिबन्धित कोरेक्सलगायतका लागुऔषध बरामद गरेको भए पनि अदालतमा पेश गरिएको अभियोगपत्रमा ४५८ बोतल मात्रै उल्लेख गरिएको छ। घिसिङले अदालतमा आफू केवल भरिया रहेको र लागुऔषध प्रहरीकै मिलेमतोमा लुकाइएको भन्ने बयान दिएपछि घटनाले नयाँ मोड लिएको हो।
प्रहरी निरीक्षक तामाङमाथि सुराकीको योजनामा लागुऔषध लुकाएको र बयान दिन दबाब दिएको आरोप लागेको छ। अनुसन्धान चलिरहेका बेला तामाङलाई कारबाही नगरी धनकुटा सरुवा गरिएको छ भने उनको स्थानमा बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीलाई सर्लाही सरुवा गरिएको छ।
घिसिङकी श्रीमती मञ्जुकुमारीले वास्तविक कारोबारीहरूलाई जोगाएर आफ्ना श्रीमानलाई फसाइएको भन्दै प्रहरी कार्यालयहरूमा उजुरी दिएकी छिन्। उजुरीपछि जिल्ला प्रहरी कार्यालय मलंगवामा दिनभर अनुसन्धान गरिएको थियो।
यसैबीच, पक्राउ परेका घिसिङले दिएको बयान र अनुसन्धानका क्रममा सूचना दिने धिरेन्द्रबहादुर थिङ, श्यामप्रसाद थिङ, र पदमाकुमारी थिङको नाम सार्वजनिक भएपछि अदालतले तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ती मुख्य अभियुक्त हाल फरार छन्।
प्रहरी निरीक्षक तामाङ र कारोबारी पदमाकुमारी थिङबीच भएको कुराकानीको उल्लेख घिसिङकी श्रीमतीले दिएको उजुरीमा गरिएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका डीएसपी विजय यादव नेतृत्वको टोलीले सर्लाहीमै अनुसन्धान सुरु गरिसकेको छ।
यता, सर्लाहीमा प्रहरी–राजनीति विवाद पनि चुलिएको छ। असार २० गते मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादव र प्रहरी उपरीक्षक खड्काबीचको शान्तिसुरक्षा विषयक विवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यादवले एसपी खड्कालाई “मधेस लुट्न आएको” भन्दै अभद्र शब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि सर्लाही सदरमुकाममा यादव पक्षधर आन्दोलनरत छन्।
त्यस्तै, प्रहरीले तस्करी गरिएका चिनी, मटर, दाल जस्ता सामान बरामद गरेपछि त्रिभुवननगरका व्यवसायी र प्रहरीबीच सेटिङमा छाड्ने प्रयास भएको अडियो सार्वजनिक भएको छ। असार २ मा भारतबाट तस्करी ल्याएको सामानको साटो लिने १८ हजार नपाएको भन्दै हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक वैद्यनाथ दास र कारोबारी राजीव यादवबीचको अडियो पनि भाइरल बनेपछि तस्करी र प्रहरीको साँठगाँठको प्रमाण थपिएको छ।
सीमा नाका रहेका सर्लाहीका प्रहरी युनिटहरू मार्फत हुने तस्करी र त्यसको सेटिङको रकम माथिल्लो तहसम्म पुग्ने गरेको आरोप लागिरहेको छ। हाल मधेस प्रदेश प्रहरी कार्यालयले यससम्बन्धी कारबाही अघि बढाएको जनाइएको छ।



