
कैलाली — बैंकिङ कसुरमा थुनिएका एक व्यवसायीको कैलाली कारागारमा भएको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानको घेरामा रहेका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पुर्पक्षका लागि थुनामा पठाइएका छन्। कैलाली प्रहरीका अनुसार, जिल्ला अदालत कैलालीले छ दिनअघि नाथलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको थियो।
मृतक २८ वर्षीय हरिशसिंह पाली डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का स्थायी बासिन्दा थिए। उनलाई बैंकिङ कसुरको मुद्दामा असार १ गते कैलाली कारागार चलान गरिएको थियो। तर, त्यसको भोलिपल्टै साउन २ गते राति अचानक बिरामी परेका पालीको राति १२:१५ बजे सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो।

पालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर, पक्राउ र कारागार चलानको क्रममा लापरबाही र अमानवीय व्यवहार भएको आरोप मृतकका परिवारले लगाएका छन्।
उनलाई जेठ २९ गते डडेल्धुराबाट पक्राउ गरिए पनि जानाजान ढिलाइ गरी जेठ ३० गते मात्रै कैलाली ल्याइएको र शनिबार परेकाले अदालतमा असार १ गते मात्र पेस गरिएको आरोप छ।
यसैबीच, मृतकका आफन्तले सई नाथले पटक–पटक रकम माग्ने गरेको दाबी गर्दै असार २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको बैंक भौचरसमेत पेश गरेका छन्।
पालीको मृत्युपछि उनको शरीरमा चोटपटक र निलडाम देखिएको भन्दै आफन्तले कारागारभित्रै कुटपिट गरी हत्या गरिएको आशंका व्यक्त गरेका छन्। यद्यपि, प्रहरी प्रशासन भने पोष्टमार्टम रिपोर्ट नआएसम्म ठोस निष्कर्षमा पुग्न नसकिने बताउँदै आएको छ। हालसम्म पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन।



