
शंखरापुर, काठमाडौं — सामाजिक न्याय, मानव अधिकार संरक्षण तथा न्यायमा पहुँच विस्तारका लागि क्रियाशील संस्था सरोकार केन्द्रले शनिबार शंखरापुर नगरपालिका–८ स्थित ऐतिहासिक साँखुमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य मानव बेचबिखन तथा ओसारपसार, वैदेशिक रोजगारको नाममा हुने ठगी, सामाजिक सञ्जालको दुरुपयोगबाट हुने क्षति, र लागुऔषध दुरुपयोगजस्ता ज्वलन्त सामाजिक समस्याबारे समुदायमा चेतना फैलाउने रहेको थियो। साथै, न्यायको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने अभियानलाई थप सशक्त बनाउने सन्देश कार्यक्रममार्फत दिइएको सरोकार केन्द्रका अध्यक्ष अधिवक्ता गोविन्द पन्थीले जानकारी दिए।

महासचिव जीवन शर्माका अनुसार, आर्थिक अभावका कारण न्यायमा पहुँचबाट बञ्चितहरूलाई लक्षित गरी केन्द्रले निःशुल्क कानुनी बहस, पैरवी तथा सहयोग प्रदान गर्दै आएको छ। साथै, वैदेशिक रोजगारमा ठगीमा परेकाको उद्धार तथा कानुनी परामर्श, र वातावरणीय सरोकारमा समेत योगदान पुर्याउने बहुआयामिक उद्देश्यका साथ सरोकार केन्द्रको स्थापना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल रहेका थिए। अध्यक्ष पन्थीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, प्रहरी, समुदाय प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रभातफेरी साँखुको ऐतिहासिक गल्ली हुँदै निकालिएको थियो, जसपछि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।
अन्तरक्रियामा सरोकार केन्द्रसँग आबद्ध कानुनी विज्ञहरूले सामाजिक विकृति, वैदेशिक ठगीका स्वरूप, तथा लागुऔषध दुरुपयोगका दुष्परिणामबारे विश्लेषण प्रस्तुत गर्दै पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न केन्द्रले खेलिरहेको भूमिकामाथि प्रकाश पारे।
सरोकार केन्द्रले यस्ता जनचेतनामूलक कार्यक्रम आगामी दिनमा अन्य स्थानीय तहहरूमा समेत सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं युवा नेता नितेश पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनिल शर्मा, एमालेका बाग्मती प्रदेशसभा सदस्य एवं पूर्व मेयर सुवर्ण श्रेष्ठ, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष तथा एमाले नेता टासी लामा, शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, राप्रपाका केन्द्रीय सदस्य शशि सिलवाल, बीपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रमेश मानन्धर तथा इतिहासविद् प्रकाशमान साख्खले आ-आफ्नो मन्तव्य राख्दै सरोकार केन्द्रले उठाएका सामाजिक सरोकारका विषयहरू अत्यन्तै सान्दर्भिक र प्रभावकारी रहेको जनाउँदै यस्ता सकारात्मक प्रयासमा सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले समाजलाई मानव बेचबिखन, साइबर अपराध र लागुऔषध दुरुपयोगबाट मुक्त गराउन राज्य र समुदाय दुवै जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो। उहाँले सरोकार केन्द्रले सञ्चालन गरेका अभियानहरू प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता अभियानलाई सरकारले समेत गम्भीरतापूर्वक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
उक्त कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका एक हजारभन्दा बढी व्यक्तिको सफल उद्धार गर्नु भएका ज्ञान बहादुर गुरुङ (मिस्टर गुरुङ) लाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी समाजसेवी श्याम बहादुर खड्का (सिन्धुपाल्चोक), महेश चालिसे, हरि प्रसाद लुइँटेल, बिष्णु बहादुर केसी (गुल्मी), कल्पना केसी, र पवन श्रेष्ठ (तनहुँ) लाई सरोकार केन्द्रले संस्थाको आजीवन सदस्यता प्रदान गरेको थियो।

कार्यक्रम सरोकार केन्द्रका अध्यक्ष अधिवक्ता गोविन्द पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वागत मन्तव्य सचिव धर्मराज कार्कीले राख्नुभएको थियो भने सञ्चालन महासचिव जीवन शर्माले गर्नुभएको थियो।



