
काठमाडौँ । माओवादीकी एक महिला सांसदको ‘चुम्बन’ भिडियो फेसबुकमा पोस्ट गरेपछि राप्रपाका युवा नेता रमेशबहादुर बागविरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको छ। साइबर ब्युरोको अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
२०७८ असार २० गते ती सांसदले साइबर ब्युरोमा उजुरी दिँदै आफूमाथि चरित्रहत्या हुनेगरी व्यक्तिगत फोटो तथा भिडिओ जथाभाबी लेखेर सामाजिक सञ्जालमा पोस्ट गरिएको आरोप लगाएकी थिइन्। त्यसको दुई दिनपछि पक्राउ परेका डोटीको आदर्शनगर–७ निवासी ३१ वर्षीय बागमाथि अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा बागले महिला सांसदका विभिन्न तस्बिरहरू जोडेर बनाइएको भिडिओ २०७८ असार १८ मा आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए। भिडिओमा लेखिएको थियो – “… माओवादी समानुपातिक सांसद…को किसिङ पछाडिको अपार सफलता पछि टिकट पनि आयछ, भिडियो विस्तारै आउँछ रे।”
पीडित सांसदले उक्त पोस्टले आफ्नो चरित्रहत्या, अपमान र बेइज्जती गरेको भन्दै उजुरी दर्ता गराएकी हुन्। प्रारम्भिक बयानमा बागले आफूले गल्ती गरेको स्वीकार गर्दै ती तस्बिर र भिडिओ सांसदकै टिकटक अकाउन्टबाट डाउनलोड गरी फेसबुकमा शेयर गरेको बताएका छन्।
यसअघि ती सांसदले सामाजिक सञ्जालमार्फत जनआस्था साप्ताहिकमा प्रकाशित समाचार र फोटो अस्वीकार गर्दै उक्त सामग्री एआई प्रविधिको दुरुपयोगबाट सिर्जना गरिएको दाबी गरेकी थिइन्। तर उजुरीमा भने एआई प्रविधिको प्रयोगको स्पष्ट उल्लेख गरिएको छैन।
बाग राष्ट्रिय प्रजातन्त्र पार्टीको सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुख (सुदूरपश्चिम) तथा पार्टीको भातृ संगठनका केन्द्रीय सदस्य हुन्। उनी सांसद ज्ञानेन्द्र शाहीको निजी सचिवालय सदस्यको रूपमा समेत क्रियाशील थिए।
बागको पक्राउको विषयमा राप्रपाले असार २३ गते विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गर्नेमात्रकै आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै उनको रिहाइको माग गरेको थियो।
सरकारी वकिलको अभियोग पत्रमा बागले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार गैरकानुनी कार्य गरेको ठहर गरिएको छ। उक्त दफाले सार्वजनिक नैतिकता, शिष्टाचार र मर्यादाविरुद्धका सामग्री इन्टरनेट वा विद्युतीय माध्यमबाट प्रकाशन गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था गरेको छ।
सरकारी वकिल कार्यालयले अभियुक्त बागलाई कानुनी सजायको माग गर्दै उनको मोबाइल जफत गर्न तथा पीडित सांसदलाई क्षतिपूर्ति दिनुपर्ने माग दाबीपत्रमा उल्लेख गरेको छ।



