
इलाम — पछिल्लो एक वर्षमा इलाम जिल्लामा आत्महत्याका घटनामा झण्डै ३० प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीले सञ्चालन गरेका सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय परामर्श सेवा, समुदायसँगको सहकार्य र मानसिक स्वास्थ्यसम्बन्धी संवादले आत्महत्या न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोईरालाका अनुसार अघिल्ला वर्षहरूमा आत्महत्या एक प्रमुख सामाजिक समस्या बनेको थियो। “मानसिक तनाव, पारिवारिक विवाद, बेरोजगारी तथा असफल प्रेम सम्बन्धले युवाहरूमा आत्महत्याको प्रवृत्ति बढेको थियो,” एसपी कोईरालाले भने, “तर, गत वर्षदेखि सञ्चालन गरेका सचेतनामूलक अभियानपछि यस्तो प्रवृत्तिमा उल्लेखनीय सुधार देखिएको छ।”

प्रहरीले विभिन्न अभियानमार्फत विद्यालय, क्याम्पस, टोल, तथा स्थानीय संघसंस्थासँगको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ। आत्महत्या गर्न खोज्ने व्यक्तिहरूको पहिचान गरी समयमै मनोपरामर्श तथा सहयोग पुर्याउने प्रयासलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।
एसपी कोईरालाले स्थानीय तह, स्वास्थ्य कार्यालय, शिक्षक, समाजसेवी तथा युवासँगको समन्वयमार्फत मानसिक स्वास्थ्यबारे खुला बहसको वातावरण सिर्जना गरिएको उल्लेख गर्दै भने, “समस्या देखिनासाथ प्रहरीसँग सहज सम्पर्क गर्न सकिने वातावारण बनाउँदैछौँ, जसबाट धेरैको ज्यान जोगिएको छ।”
प्रहरीको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा आत्महत्याका घटनामा करिब ३० प्रतिशत कमी आएको छ। यो कमीलाई सामाजिक सचेतना र प्रहरी-समुदाय साझेदारीको प्रतिफलका रूपमा लिइएको छ।
आगामी दिनमा आत्महत्या न्यूनीकरण अभियानलाई अझ प्रभावकारी बनाउने योजना अन्तर्गत प्रहरी कार्यालयले मनोपरामर्श कक्ष स्थापनादेखि टोलस्तरीय संवाद कार्यक्रम विस्तार गर्ने तयारी गरिरहेको छ।



