सुर्खेत — प्रहरीले विभिन्न जिल्लामा फैलिएको एक संगठित आपराधिक सञ्जाललाई पक्राउ गर्न सफल भएको छ, जसले नक्कली नोट छपाइ र लागुऔषध अफिमको तस्करीमा संलग्नता जनाउँदै आएको थियो। सुर्खेत, जाजरकोट र बाँकेमा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले एक मिडिया सञ्चालकसहीत  ५ जनालाई पक्राउ गरी १२ लाखभन्दा बढी नक्कली नोट, ३० केजीभन्दा बढी अफिम र नोट छाप्न प्रयोग हुने कम्प्युटरलगायतका उपकरणहरू बरामद गरेको हो।

घटनाको सुरुवात असार १० गते बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्तिटोलबाट भएको हो। प्रहरीले विशेष सूचनाका आधारमा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली नोटसहित पक्राउ गरेपछि आपराधिक सञ्जालको पर्दाफास भएको हो।

दिलमायासँगको प्रारम्भिक बयानपछि प्रहरीले सोही दिन कुशे–५, खुर्पाका ३३ वर्षीय राम बहादुर सिंहको डेरामा छापा मारेर १,००० दरका १,२३६ थान नक्कली नोट बरामद गर्‍यो, जसको कुल मूल्य १२ लाख ३६ हजार रुपैयाँ रहेको छ।

पक्राउपछि अनुसन्धानलाई तीव्रता दिँदै प्रहरीले असार १२ गते सुर्खेतको भेरीगंगा नगरपालिका–१२, ठकुरीटोलमा डेरा गरी बसिरहेका जाजरकोटका कृष्ण बहादुर वली (३५) र प्रेम बहादुर बिक (३८) लाई पक्राउ गर्‍यो। उनीहरूको साथबाट कालो झोलामा लुकाइएको ११ किलोग्राम १७२ मिलिग्राम अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यता बाँकेको कोहलपुरमा प्रहरीलाई थप ठूलो सफलता हात लागेको छ। जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया हाउस सञ्चालन गर्दै आएका कालीकोट नरहरीनाथ गाउँपालिका–४ का ३४ वर्षीय मन बहादुर सहकारी पक्राउ परेका छन्। उनको डेरा र मिडिया कार्यालयबाट ५१ हजार रुपैयाँ बराबरका नक्कली नोट, १९ किलो ३०० ग्राम अफिम, र नोट छपाइमा प्रयोग हुने क्यानन प्रिन्टर, सीपीयू, किबोर्ड, क्यामेरालगायतका उपकरणहरू बरामद गरिएको छ।

पक्राउ परेका सबै अभियुक्तहरूमाथि आर्थिक अपराध, लागुऔषध कारोबार, मुद्रासम्बन्धी कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीर जंग शाहीले नागरिकले दिएको सूचनाका आधारमा अनुसन्धानमा उल्लेखनीय सफलता मिलेको बताउँदै अपराध नियन्त्रणमा समुदायको सहकार्य अपरिहार्य रहेको बताएका छन्। उनले यस्ता गैरकानुनी क्रियाकलापबारे थप सूचना दिन सबै नागरिकलाई आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय