
काठमाडौं । एमएडब्लु ग्रुपअन्तर्गत सञ्चालित सामाजिक संस्था एमएडब्लु फाउन्डेसनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपद् व्यवस्थापनका लागि विभिन्न उद्दार सामग्रीहरू हस्तान्तरण गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले परिसर प्रमुख एसएसपी विश्व अधिकारीलाई ती सामग्रीहरू हस्तान्तरण गरिन्।

वर्षातको समयमा जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूको कामलाई सहज बनाउन सहयोग पुग्ने विश्वास फाउन्डेसनले व्यक्त गरेको छ। यसअघि कोरोना महामारीका समयमा ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क वितरण गर्नुका साथै थानकोटस्थित श्री अरबिन्द योग मन्दिरमा बसोबास गरिरहेका बालबालिकाको लागि खाद्यान्न तथा स्टेशनरी खरिदका लागि आर्थिक सहयोग समेत फाउन्डेसनले गरेको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत एमएडब्लु ग्रुपले स्थापना गरेको फाउन्डेसनले समुदायको हितमा काम गर्दै सर्वसाधारणको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको जनाएको छ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सले पनि सहयोगस्वरूप इन्टरयाक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको थियो।



