काठमाडौं । काठमाडौं उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारी चालकहरूविरुद्ध ट्राफिक प्रहरीले फेरि एकपटक कडाइका साथ कारबाही थालेको छ। सन् २०७४ साल वैशाख १ गतेदेखि लागू गरिएको ‘नो हर्न’ नियमलाई पुनः प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो।

सुरुवाती दिनहरूमा यो अभियान प्रभावकारी ढंगले अगाडि बढाइए पनि पछिल्लो समय सडकमा हर्न बजाउने प्रवृत्ति बढेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियानलाई पुनः कडाइका साथ लागू गर्ने निर्णय गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार जनगुनासो व्यापक रूपमा बढेपछि अभियानलाई पुनः सक्रिय बनाइएको हो। ‘सडकमा अनावश्यक हर्नले उत्पन्न ध्वनि प्रदूषणले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ,’ उनले भने।

प्रहरीका अनुसार अनावश्यक हर्न बजाउने सवारी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) (३) अनुसार पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गरिनेछ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीका अनुसार, ‘नो हर्न’ अभियान सुरु भएयता काठमाडौं उपत्यकामा करिब डेढ लाख सवारी चालक कारबाहीमा परिसकेका छन्।

‘चर्को सवारी चाप र अनुशासनहीन हर्न प्रयोगका कारण बिरामी, बालबालिका, वृद्धवृद्धा, पैदलयात्री र विद्यार्थीमा प्रत्यक्ष असर परेको छ,’ गिरीले भने, ‘त्यसैले यस अभियानलाई निरन्तर र कडाइका साथ अघि बढाइएको हो।’

कार्यालयका तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असार २९ सम्म उपत्यकामा ५ हजार ३८० भन्दा बढी सवारी साधन अनावश्यक हर्न प्रयोग गरेको अभियोगमा कारबाहीमा परेका छन्। तीमध्ये अधिकांश दुईपांग्रे सवारी रहेका छन्। अघिल्लो आर्थिक वर्षमा १० हजार ५०७ सवारीसाधन कारबाहीमा परेका थिए।

सवारी दुर्घटनाको अवस्था डरलाग्दो—

काठमाडौं उपत्यकामा मात्र सवारी दुर्घटनाको संख्या उच्च रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म ६ हजार ४१० वटा दुर्घटना घटेका छन्। ती दुर्घटनामा १७० जनाले ज्यान गुमाएका छन् भने २४७ जना गम्भीर घाइते भएका छन्।

त्यस्तै, अघिल्लो वर्ष ८८८१ दुर्घटनामा १७७ जनाले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७९/८० मा भने १० हजार ६७५ दुर्घटना भएका थिए, जसमा १८७ जनाको मृत्यु भएको थियो।

कारबाहीबाट करोडौँ राजस्व—

सवारी नियम उल्लंघनकर्तामाथि ट्राफिक प्रहरीले कडाइ गरेसँगै राजस्व संकलन पनि उल्लेखनीय भएको छ। आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म मात्र उपत्यकामा ६ लाख ७० हजार सवारीसाधन कारबाहीमा परेका छन्। ती कारबाहीबाट सरकारको राजस्वमा ४३ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ९ लाख ७७ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट ७४ करोड ५१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।

ट्राफिक प्रहरीका अनुसार ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, प्राविधिक निगरानी तथा नियमित गस्तीलाई समेत सशक्त बनाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय