काठमाडौं, २९ असार ।अब ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूले भौतिक रूपमा ट्राफिक कार्यालय धाउनु नपर्ने भएको छ। नेपाल प्रहरीले ‘नागरिक एप’मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने सुविधा सुरु गरेको छ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममार्फत् यो प्रणालीको औपचारिक उद्घाटन गर्नुभएको हो। उक्त प्रणाली सुरु भएसँगै ट्राफिक नियम उल्लंघन गर्नेले जरिवाना तिरेपछि अनलाइनमार्फतै अनिवार्य सचेतना कक्षा लिन सक्नेछन्।

प्रहरी प्रधान कार्यालयले ज्ञानबजार प्रालिसँगको सहकार्यमा यो प्रणालीको सफ्टवेयर निर्माण गरेको हो। कक्षा लिन ‘नागरिक एप’ अनिवार्य रूपमा प्रयोग गर्नु पर्नेछ। जरिवाना भुक्तानी गरेपछि प्रयोगकर्ताले आफ्नो दुवै कान स्पष्ट देखिने तस्बिर अपलोड गरी अनलाइन कक्षाका लागि दर्ता गर्नुपर्नेछ।

एक घण्टा लामो कक्षा पछि, ६ मध्ये कम्तीमा ३ प्रश्नको सही उत्तर दिनुपर्ने

कक्षा सकिएपछि प्रयोगकर्तालाई ६ वटा प्रश्न सोधिनेछ। तीमध्ये कम्तीमा तीन प्रश्नको सही उत्तर दिनुपर्नेछ, अनि मात्र कक्षा सफल भएको मानिनेछ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, यो प्रणालीमा एआईजी प्रविधिको प्रयोग गरिएको छ। कक्षा अवधिभर प्रयोगकर्ताको अनुहार भिडियोमार्फत देखिनु अनिवार्य छ। यदि एक मिनेटभन्दा बढी अनुहार नदेखिएको पाइएमा प्रणालीले चेतावनी दिनेछ। यस्तो अवस्था तेस्रो पटकसम्म दोहोरिएमा अर्को कक्षाका लागि पुनः दर्ता गर्नुपर्नेछ। त्यसपछि पनि समस्या दोहोरिएमा भौतिक रूपमा उपस्थित भएर कक्षा लिनुपर्ने हुन्छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत यो नयाँ सेवा सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, यस प्रणालीले सेवा प्रवाहमा पारदर्शिता, पहुँच र सहजता बढाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय