
काठमाडौँ — चोरी पैठारी गरी ल्याइएका दुईवटा सवारीसाधनसहित दुई जनालाई ट्राफिक प्रहरीले काठमाडौँका फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको छ।
गत शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोकबाट रामेछापको दोरम्बा गाउँपालिका–४ स्थायी घर भई हाल जोरपाटी बेशीगाउँमा बसोबास गर्दै आएका ४० वर्षीय धनबहादुर तामाङलाई बा १६ च ३१३१ नम्बरको स्विफ्ट कारसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ निवासी ३९ वर्षीय मोहन लामालाई बा १६ च ४०१७ नम्बरको स्विफ्ट कारसहित काठमाडौँको बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा दुबै कारको विवरण यातायात व्यवस्था कार्यालय एकान्तकुना तथा सुजुकीको आधिकारिक कम्पनीमा अभिलेखमा नरहेको पुष्टि भएपछि प्रहरीले उक्त सवारीसाधनहरू चोरी पैठारीमार्फत ल्याइएको आशंकामा थप अनुसन्धान अघि बढाएको छ।
सवारीसहित नियन्त्रणमा लिइएका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।



