काठमाडौँ — काठमाडौँ उपत्यकाका प्रहरी वृत्त र प्रभागका इन्चार्जहरूको कार्य समय (ड्युटी आवर) घटाउने निर्णय गरिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको निर्देशनमा उक्त निर्णय असार २३ गते बसेको छलफलपछि लागू गरिएको हो।

यसअघि प्रहरी वृत्तका डिएसपी (DSP) र प्रभागका इन्स्पेक्टरहरूलाई मध्यराति १२ बजेसम्म फिल्डमा खटिनुपर्ने व्यवस्था थियो। अब सो समय घटाएर राति १० बजेसम्म मात्र फिल्डमा खटिनुपर्ने व्यवस्था लागू गरिएको छ।

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, “कार्यबोझका कारण इन्चार्जहरू सेवाग्राहीलाई पर्याप्त समय दिन नसकेको विश्लेषणपछि उक्त निर्णय गरिएको हो।”

उक्त निर्णय कार्यान्वयन गर्न काठमाडौं, भक्तपुर र ललितपुरका तीनैवटा जिल्ला प्रहरी परिसरलाई सर्कुलर पठाइसकिएको छ।

भीभीआईपी सवारी सुरक्षामा पनि सुधार

अबदेखि भीभीआईपीहरूको सवारी सुरक्षाका लागि ‘रोड प्रोटेक्सन ड्युटी’मा वृत्तका डिएसपीहरूलाई खटाइने छैन। त्यसको सट्टा सम्बन्धित रुटमा पर्ने युनिटका इन्स्पेक्टर वा अन्य कनिष्ठ अधिकृतको कमाण्डमा मात्र प्रहरी खटाइने सर्कुलरमा उल्लेख छ। अन्य युनिटबाट थप मद्दत आवश्यक परेमा अवस्था अनुसार मात्र खटाइने व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरी युनिट प्रमुखका जिम्मेवारीमा फेरबदल

पहिले बिहान ९ बजेदेखिको ‘पिक आवर’मा ट्राफिक प्रहरी युनिट प्रमुखहरू आफैं सडकमा खटिनुपर्ने व्यवस्था थियो। अब उक्त जिम्मेवारी सम्बन्धित युनिटका अपरेसन कमाण्डरले लिनेछन्।

नयाँ कार्ययोजना अनुसार रात्रिकालीन चेकिङ अब जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। सर्कुलरमा भनिएको छ, “रात्रिकालीन चेकिङ जनपद प्रहरी र ट्राफिक प्रहरी सम्मिलित भई संयुक्त रूपमा चेकिङ गर्ने।”

उपत्यका प्रहरीको यो कदमले इन्चार्ज अधिकारीहरूको कार्यसन्तुलन कायम गर्न, सेवाग्राहीप्रति उत्तरदायी सेवा प्रवाह बढाउन र प्रशासनिक कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय