
कैलाली ।दैनिक जिम्मेवारी निर्वाह गर्दै आएका ट्राफिक प्रहरी जवान सन्तोष चन्द हाल गम्भीर अवस्थामार्फत उपचाररत छन्। अस्थायी ट्राफिक प्रहरी पोस्ट अत्तरिया बसपार्क, कैलालीमा कार्यरत २५ वर्षीय चन्द गत असार ४ गते राति सडक दुर्घटनामा परेका हुन्।
बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–४ स्थायी ठेगाना भइ हाल सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटी दरबन्दीमा कार्यरत चन्द अन्दाजी राति १०:०५ बजे जिल्ला कैलाली, गोदावरी नगरपालिका–२ स्थित भीमदत्त राजमार्गको पूर्व किनारमा बेहोस र घाइते अवस्थामा फेला परेका थिए। दाहिने हात, अनुहार र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनी फेला परेपछि तत्कालै पदमा अस्पताल, अत्तरिया पुर्याइएको थियो।

त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। हाल चन्दलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।
अत्यावश्यक उपचार खर्च उच्च हुने देखिएपछि प्रहरी जवान आधारभूत तालिम २०७९ समूहका सहकर्मीहरूले आपसमा रकम उठाएर सहयोग गरेका छन्। उनीहरूले आफ्ना सहकर्मीका लागि रु ६६,००० (छैसठ्ठी हजार) आर्थिक सहयोग संकलन गरी चन्दका पितालाई अस्पतालमै हस्तान्तरण गरेका हुन्।



