काठमाडौं — दुबईबाट एक महिलाको उद्धार गरी नेपाल फर्काइएको रोजगारको लोभमा भिजिट भिसाको माध्यमबाट दुबई पुगेकी एक नेपाली महिला चरम शोषण सहन नसकी आत्महत्या प्रयास गर्न लागेकी थिइन्। तर, सरोकार केन्द्र र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको सक्रियतामा रातको ३ बजे समयमै गरिएको उद्धार कार्यले उनको ज्यान बचाउन सफल भएको सरोकार केन्द्रका अध्यक्ष अधिवक्ता गोविन्द पन्थीले जानकारी दिनुभयो।

उक्त महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै “सेटिङ” का नाममा रु १ लाख ३० हजार र थप रोजगारको आश्वासनमा कुल रु ३ लाख ५० हजार दलाललाई बुझाएर भिजिट भिसामा दुबई पुगेकी थिइन्। दुबई पुगेपछि बङ्गाली समूहद्वारा चरम शोषणमा परेकी उनी मानसिक तनावमा परिन् र हातको नस काटेर आत्महत्या गर्न खोजेकी थिइन्।

तर, समयमा सूचना प्राप्त भएपछि मिस्टर गुरुङको रेस्क्यु टिम र सरोकार केन्द्रको समन्वयमा उनीलाई अस्पताल पुर्याई उपचार गरिएको थियो। त्यसपछि उनी सेफ हाउसमा सुरक्षित रूपमा राखिएकी छिन्।

संगै गएका युवाहरूको पनि सकुशल उद्धार—

उक्त महिलासँगै भिजिट भिसामार्फत दुबई गएका सिजन र शुशिल नाम गरेका दुई युवाहरूले पनि “सेटिङ” र रोजगारीको नाममा कुल रु ३ लाख २० हजार दलाललाई बुझाएका थिए। तर, दुबई पुगेपछि उनीहरू पनि अलपत्र परेका थिए। हाल उनीहरूलाई समेत सकुशल उद्धार गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको सरोकार केन्द्रले जनाएको छ।

यस घटनासँग जोडिएको एअरपोर्टमा भेट हुदॅाको एक हृदयविदारक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा पीडित महिलाकी ७८ वर्षीय आमाले सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीसमक्ष रुँदै न्यायको माग गरिरहेकी देखिन्छन्।

उक्त भिडियोमा वृद्ध आमाले भावविह्वल स्वरमा भनिन्—“मैले छोरीले पैसा कमाउँछे भनी लालपुर्जा सहकारीमा राखेर ४ लाख ऋण निकालें। अब त छोरीको लास आउँछ कि भन्ने डरले जिउनै गाह्रो भएको छ। कृपया मेरो छोरीलाई न्याय दिलाइदिनुहोस्।”

उनको पीडाले सम्पूर्ण नेपाली समाजको मन छोएको छ। सपनाको नाममा घर धितो राखेर छोरीलाई विदेश पठाएकी आमालाई अहिले गहिरो पीडा र पश्चातापले घेरेको छ।

दलालविरुद्ध कारबाहीको प्रक्रिया अघि बढ्दै —

पीडितको उद्धारपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरी दलालविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको छ। सरोकार केन्द्र र मिस्टर गुरुङ टिमले समन्वय गरी मानव तस्करी अन्तर्गत मुद्दा दर्ता गर्ने पहल सुरु गरिएको सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीले जानकारी दिनु भयो ।

यो घटनाले फेरि एक पटक राज्य संयन्त्रको संवेदनशीलता र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छः किन यस्ता अमानवीय अपराधहरू नियन्त्रण गर्न अध्यागमन विभागलगायत सरकारी संयन्त्रहरू प्रभावकारी रूपमा परिचालित हुन सकिरहेका छैनन्? किन सम्भावित मानव तस्करीका घटनाप्रति कतिपय अधिकारीहरू मौन छन्? जब पीडित आफ्नै दाजुभाइ, दिदीबहिनी हुन्छन्, तब पनि सरकार किन चुप रहन्छ?

सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी आग्रह गर्नु हुन्छ :— “भिजिट भिसा घुमघामका लागि हो, रोजगारीका लागि होइन। सामाजिक सञ्जालमा देखिने झूटा विज्ञापन र दलालका मिठा कुरा नमान्नुहोस्। यो बाटो नैतिक, कानुनी र व्यक्तिगत सुरक्षाका हिसाबले अत्यन्त जोखिमपूर्ण छ।”

जनचेतनामा बल पुर्याऔं, अरुलाई बचाऔं —

भिजिट भिसाको नाममा भइरहेका शोषण र ठगीका घटनाबाट जोगिन सजगता र जनचेतना नै सबैभन्दा बलियो उपाय हो। सरोकार केन्द्रले सबै नागरिकलाई यस्ता घटनाका बारेमा सचेत रहन र अरूलाई पनि चेतावनी दिन सेयर गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय