काठमाडौ — काठमाडौंको कोटेश्वरबाट ४० किलोग्राम लागूऔषध गाँजा (पोलेन) र १ लाख २५ हजार रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन्।

लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले कोटेश्वरस्थित पाल्पाकोट चोकमा डेरा गरी बस्ने सुमन चेपाङको कोठामा छापा मारेको थियो। सोही क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ का १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र ३८ वर्षीय सुमन चेपाङ रहेका छन्।

उनीहरूका साथबाट प्रहरीले ४० किलोग्राम गाँजा, १ लाख २५ हजार नगद, १५० र २२० सीसीका दुईवटा पल्सर मोटरसाइकल र तीन थान मोबाइल सेट समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय