काठमाण्डौं— सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालगायत तीन जनाको भ्रष्टाचारसम्बन्धी फैसला बदर गरेपछि उनीहरू बुधबार थुनामुक्त भएका छन्।

कर फर्छ्यौट आयोग–२०७१ का तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य द्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा विशेष अदालतको फैसलाअनुसार एक वर्षदेखि डिल्लीबजार कारागारमा थुनामा रहेका थिए। उनीहरूलाई सर्वोच्चको आदेशपछि विशेष अदालतले साधारण तारेखमा छोडेको हो।

२०७९ असार ५ गते विशेष अदालतले कर फर्छ्यौट आयोगमा ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तीनै जनालाई जनही ९ वर्ष कैद सजाय सुनाएको थियो। अदालतले तोकेको जरिवाना बुझाउन नसक्दा उनीहरू थुनामा गएर सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।

सर्वोच्च अदालतको न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतको फैसलामा ‘प्राकृतिक न्यायको सिद्धान्त तथा प्रमाण संकलन र मूल्यांकनमा गम्भीर कानुनी त्रुटि’ भएको ठहर गर्दै मंगलबार फैसला बदर गरेको हो।

अब मुद्दा पुनः विशेष अदालतमै फर्काइनेछ। विशेष अदालतले उनीहरूलाई आउँदो साउन १२ गते उपस्थित गराउने गरी साधारण तारेखमा छोडिएको उपरजिष्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय