
सर्लाही— सर्लाही प्रहरीले भारतको सितामढीबाट हराएकी एक नेपाली बालिकालाई सकुशल उद्धार गरेर नेपाल फर्काएको छ। उद्धार कार्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादवको नेतृत्वमा भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै सफलतापूर्वक सम्पन्न भएको हो।
सर्लाहीको चक्रहरिया गाउँपालिका–खोरियाबाट जेठ २२ गते हराएकी बालिका भारत पुगेको सूचना प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ती बालिका मदनपुर निवासी विवेक गिरीसँगको सम्बन्धका कारण भारत गएको हुन सक्ने जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

बालिकाकी आमा रिना देवीद्वारा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि सूचना प्रविधिको प्रयोग गर्दै सई यादवले बालिकालाई भारतको सितामढीमा पत्ता लगाई भारतीय प्रहरीसँग समन्वय गर्दै उद्धार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले तीव्र सुराकी र दुवै देशका सुरक्षाकर्मीबीचको सहकार्यकै कारण छोटो समयमा बालिका उद्धार हुन सफल भएको जानकारी दिए। उनले भने, “समन्वयकारी रूपमा काम गर्दा जटिल समस्या समाधान गर्न सजिलो हुन्छ।”
स्थानीय वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले सई यादव नेतृत्वको टोलीको सक्रियताको प्रशंसा गर्दै यस्तो कार्यले भविष्यमा यस्ता घटनाहरूको रोकथाममा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे।
ईलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत सई सुवास यादव विगतमा महिला तथा बालबालिका सेवा कक्ष, जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत रहँदा २५ जना नेपाली बालबालिकालाई भारतबाट उद्धार गरिसकेका छन्। साथै उनले विभिन्न समयमा १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको प्रहरी स्रोतको भनाइ छ।
उद्धार, अपराध नियन्त्रण र सुरक्षाको क्षेत्रमा सई यादवको निरन्तर सक्रियता, समर्पण र व्यावसायिक निष्ठा समुदायमा प्रहरीप्रति विश्वास सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ।



