
सुरक्षा सरोकार डटकम — नेपाल प्रहरी, देशको कानुनी शासन र नागरिक सुरक्षाको आधारशिला, शान्ति, अमनचयन र सुरक्षाको स्थायित्वका लागि अहोरात्र खटिने राष्ट्र सेवक संस्था हो भन्ने कुरामा दुईमत छैन। देशमा साना ठूला अपराध नियन्त्रण, सडक सुरक्षा, आपतकालीन राहतदेखि लिएर जनताको दिनचर्या शान्तिपूर्वक चलिरहोस् भन्ने चाहनासहित कर्मठ रूपमा खटिएको सुरक्षा निकायको रूपमा प्रहरी आज पनि जनमानसमा स्थापित छ। प्राकृतिक विपत्तिको समयमा जोखिम मोलेर उद्धार गर्ने, जनप्रहरीको अवधारणा कार्यान्वयन गर्न र पीडितसँग सहानुभूति प्रदर्शन गर्दै न्यायको ढोका खोलिदिने नेपाल प्रहरी आजको दिनमा कानुनको रक्षक मात्र नभएर जनताको साथी बन्ने दिशातर्फ समेत उन्मुख भएको देखिन्छ।
जनतासँग आत्मीय सम्बन्ध कायम गर्ने प्रयास —

सुरक्षा व्यवस्था कडाई मात्र गरेर होइन, सहकार्य र समझदारीको माध्यमबाट अझ प्रभावकारी र दिगो बनाइन्छ भन्ने बुझाईले पछिल्लो समय नेपाल प्रहरी नागरिकमाझ झन् नजिकिन थालेको छ। ‘प्रहरी हाम्रो साथी हो’, ‘जनता र प्रहरी एक हौं’ जस्ता नाराहरु शब्दमा मात्र सिमित नरही व्यवहारमा रूपान्तरण हुँदै गएका छन्। दाङको रेहार मेला, नवलपरासीको कावासोती र सुनवलमा आयोजित आद्यौगिक मेला, कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको नाटक, रुपन्देहीका सांगीतिक दोहोरी कार्यक्रम—यी सबै प्रयास जनताको मन जित्ने प्रहरी अभियानकै हिस्सा हुन्।
प्रहरी र नागरिकबीचको संवादको माध्यम बनिरहेका यी कार्यक्रमहरूले “सुरक्षा हाम्रो साझा सरोकार हो” भन्ने भावनालाई जनजनसम्म पुर्याइरहेका छन्। यस्ता सांस्कृतिक कार्यक्रममार्फत प्रहरीलाई बुझ्ने, प्रहरीसँग आफ्ना गुनासा राख्ने, सल्लाह गर्ने वातावरण बन्दै गएको छ। जनताले प्रहरीप्रति सकारात्मक दृष्टिकोण राख्न थालेका छन्, जुन प्रहरी संगठनको दीर्घकालीन साखका लागि अत्यन्त महत्वपूर्ण छ।
प्रहरीको सफलताको कथा : समर्पण र संगठनात्मक समन्वय—
७० हजारभन्दा बढी सक्रिय जनशक्ति रहेको नेपाल प्रहरी संगठनको सफलताको पछाडि सिपाहीदेखि आईजीपीसम्मको कठोर परिश्रम, आन्तरिक समन्वय, दायित्वप्रति लगाव र समर्पण भाव निहित छ। अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, सीमान्तकृत जनसमुदायको सुरक्षामा प्रहरीको उपस्थिति, विभिन्न जनगुनासो समाधान—यी सबै विषयमा प्रहरीले उल्लेखनीय उपलब्धि हात पारेको छ। फलस्वरूप, वर्षेनी प्रहरी सेवामा प्रवेश गर्न चाहने युवाको संख्या बढ्दै जानु र ठूलो प्रतिस्पर्धाबाट छनोट हुनु प्रहरीप्रतिको बढ्दो जनविश्वासको परिचायक हो।
यथार्थका धरातलमा उभिएका चुनौतीहरू—
तर, प्रहरीको यो सफलताले मात्र सम्पूर्ण सन्तुलन कायम रहन्छ भन्ने होइन। राजनीतिक हस्तक्षेप, स्रोतसाधनको अभाव, क्षेत्राधिकारको अस्पष्टता, आन्तरिक मनोबल कमजोर पार्ने खालका असमझदारी, नागरिक गुनासो सुन्ने प्रणालीमा कमजोरी, केही असंवेदनशील व्यवहार—यी सबै चुनौतीहरू प्रहरी संगठनका लागि गम्भीर चिन्ताका विषय हुन्।
त्यस्तै, फौजदारी न्याय प्रणालीमा अनुसन्धानकर्ता निकायको रूपमा प्रहरीको भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा समाजको तर्फबाट बढ्दो रूपमा व्यक्त भइरहेको छ। ग्रामीण क्षेत्र र दुर्गम भूभागमा प्रहरी सेवाको पहुँच कमजोर भएको, महिलामैत्री सेवा प्रणालीको अभाव, अनुसन्धानको ढिलासुस्ती, र संवेदनशील मुद्दामा आवश्यक संवेदनशीलता नअपनाएको आरोपहरूले पनि प्रहरी संगठनलाई समयसापेक्ष सुधारको आवश्यकताप्रति सचेत गराएको छ।
यी चुनौतीहरूसँग जुध्नका लागि नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक कार्ययोजना ल्याएको छ जसले नागरिकसँगको सम्बन्ध सुधार, उत्तरदायित्व अभिवृद्धि, सहकार्यको वातावरण सिर्जना र सेवाप्रवाहमा पारदर्शिता कायम गर्ने उद्देश्य राख्दछ। नागरिक सहायता कक्ष, नागरिक सुनुवाइ कार्यक्रम, मुस्कानसहितको सेवा, प्रहरी-नागरिक हातेमालो अभियान, ग्रामीण प्रहरी अवधारणा लगायतका प्राथमिकता र कार्यक्रमहरू यही रणनीतिक सोचको उपज हुन्।
सहकार्यमा बल : प्रहरी–नागरिक नङ र मासुको सम्बन्ध—
नेपालको ग्रामीण, शहरी, सीमावर्ती क्षेत्रदेखि लिएर मेगासिटीसम्म जनताको मनमा शान्ति र सुरक्षाको अनुभूति गराउने काम सरल छैन। प्रहरी यो कठिन यात्रामा तब मात्र सफल हुन सक्छ जब उसले नागरिकलाई आफ्नो साझेदार ठान्छ। प्रहरी मात्र अनुशासनको पर्याय नभएर सहानुभूतिको प्रतीक पनि बन्न आवश्यक छ। जनतासँग घुलमिल हुने, उनीहरूको गुनासो र सन्देश सुन्ने, संवाद गर्ने, उनीहरूलाई अधिकारबारे सचेत गराउने यस्ता कार्यक्रमहरूले प्रहरीको मानवमुखी चरित्र उजागर गर्दै लैजानेछन्।
यसको लागि, केवल वर्दी र पदीय शैली पर्याप्त हुँदैन, सेवा भाव, जिम्मेवारीको गहिरो बोध र जनअपेक्षासँगको संवेदनशीलता चाहिन्छ। नागरिकले प्रहरीलाई हेर्ने दृष्टिकोण बद्लिन थालिसकेको छ, र प्रहरीले नागरिकप्रति देखाएको आत्मीयता र सेवा प्रवाहमा देखिएको रूपान्तरणले यो सम्बन्धलाई अझ मजबुत पारिरहेको छ।
नागरिक र प्रहरी नङ र मासुको सम्बन्धमा आबद्ध हुनु भनेको केवल प्रतीकात्मक वाक्य मात्र होइन, यो यथार्थको एउटा सुन्दर परिभाषा हो। जब प्रहरी र नागरिकबीच आपसी विश्वास, इमान्दारिता र उत्तरदायित्वको भाव बढ्छ, तब समाज शान्त, समुन्नत र सुरक्षित बन्छ। प्रहरी एक्लैले सुरक्षा सुनिश्चित गर्न सक्दैन, न त नागरिकले प्रहरीविनाको समाज चाहन सक्छन्। त्यसैले साझा सहकार्य र समझदारीमै भविष्यको सुरक्षाको मूल कुञ्जी लुकेको छ।
नेपाल प्रहरीले यो यथार्थलाई चिन्न थालेको छ, र समाजले पनि प्रहरीप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउँदै गएको छ। अबको आवश्यक्ता भनेको यिनै सहकार्यका प्रयासहरूलाई संस्थागत बनाउँदै लैजाने, आलोचना होइन, सुझावका भाषामा संवाद गर्दै नागरिक–प्रहरी सम्बन्धलाई जनसेवाको उत्कृष्ट नमुनाका रूपमा रूपान्तरण गर्नु हो। तब मात्र हाम्रो समाज, साँच्चै सुरक्षित, न्यायपूर्ण र उत्तरदायी हुनेछ।



