सम्पादकीय — सुरक्षा सरोकार 

सर्वप्रथम आत्मसमर्पण गरेपछि पनि क्रुरतापूर्वक मारिएका “वीर अमर प्रहरीहरू” प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

एकजना प्रहरी अफिसर भन्नुहुन्छ : नेपाल प्रहरीको तालिममा पढाइन्थ्यो—“प्रहरीले १ घण्टा ड्युटी छाड्यो भने देश रहँदैन।” यो केवल नारा थिएन, व्यवहारिक सत्य हो। एउटा प्रहरी एक घण्टा पछाडि हट्दा समाजमा शान्ति भंग हुन्छ, अपराधीको मनोबल बढ्छ, र नागरिक असुरक्षित हुन्छन्। यसरी हेर्दा प्रहरी राज्यको मेरुदण्ड हो, जसले जनताको सुरक्षा र कानुनी शासनलाई जोगाइरहेको छ।

तर विडम्बना आजको वास्तविकता फरक छ। आफ्नो जीवनको मूल्य चुकाउँदै राष्ट्र र जनताको सुरक्षामा खटिने प्रहरीलाई उल्टै आतंककारी ठहर्याउने प्रवृत्ति बढ्दो छ। यसले प्रहरीको आत्मबल मात्र होइन, सम्पूर्ण संस्थागत सुदृढतामै आघात पुर्याएको छ।

आज प्रहरीको जीवनको ग्यारेन्टी छैन। अपमान, उपहास र सामूहिक बेइज्जती नै प्रहरीको परिचय जस्तो बनाइन्छ। प्रहरीलाई अधिकार बिना मात्र कर्तव्य र जिम्मेवारी थोपारिन्छ। तर सम्मान र सुरक्षित वातावरण बिना कुनै पनि सुरक्षाकर्मीले आफ्नो पेशागत कर्तव्य प्रभावकारी ढङ्गले पूरा गर्न सक्दैन।

यदि प्रहरीलाई निरन्तर अपमानित गरिँदै जाने हो भने त्यो देश र समाजकै दुर्भाग्य हुनेछ। किनकि प्रहरी कमजोर हुँदा अपराधी बलिया बन्छन्, अनि समाज अपराधीहरूको खेलमैदानमा परिणत हुन्छ।

गर्व गर्नुपर्ने कुरा के छ भने—नेपाल प्रहरीले हरेक संवेदनशील क्षणमा आत्मसंयम देखाएको छ। जनताको भावनालाई सम्मान गर्दै, आत्मरक्षाको नाममा गोली चलाएर नरसंहार गर्ने बाटो लिन अस्वीकार गरेको छ। यो नै प्रहरीको अनुशासन, मानवता र कर्तव्यनिष्ठाको उदाहरण हो। तर यति हुँदाहुँदै पनि प्रश्न उठ्छ—किन प्रहरी सधैं अपहेलित हुनुपर्ने? किन प्रहरी न देशको रह्यो, न जनताको?

प्रहरी संस्थाको महत्व

प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र होइन, यो नागरिक अधिकारको संरक्षक हो।

१.न्यायमा पहुँच – प्रहरी बलियो हुँदा सामान्य नागरिकले कानुनमा विश्वास गर्छ।

२.शान्ति र स्थायित्व – समाजमा शान्ति कायम गर्न प्रहरी पहिलो ढाल हो।

३.संकटकालीन सहयोग – प्राकृतिक प्रकोप, दुर्घटना वा विपद् व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा हुन्छ।४.राज्यको प्रतिनिधि – सडकमा ट्राफिक नियमनदेखि अपराध अनुसन्धानसम्म प्रहरी नै राज्यको प्रत्यक्ष अनुहार हो।

यदि प्रहरी कमजोर हुन्छ भने नागरिकको सुरक्षाभाव हराउँछ, कानुनको शासन धराशायी हुन्छ, र लोकतन्त्र नै असुरक्षित बन्छ। त्यसैले प्रहरीलाई बलियो बनाउनु भनेको राष्ट्रलाई बलियो बनाउनु हो।

अबको आवश्यकता

अब प्रहरीलाई केवल ड्युटीमा पठाएर मात्र काम सकिएको ठान्ने होइन, बरु – जीवन र सुरक्षाको ग्यारेन्टी, स्पष्ट अधिकार र जिम्मेवारीको किटान , इज्जत र सम्मानका साथ काम गर्ने वातावरण , राजनीतिक हस्तक्षेपबाट मुक्त संस्था र यी सुनिश्चित नगरेसम्म प्रहरी आफ्नो वास्तविक भूमिकामा स्थापित हुन सक्दैन।

प्रहरी कुनै व्यक्ति मात्र होइन, यो संस्था हो; राज्यको अभिन्न अङ्ग हो। प्रहरी बलियो हुँदा सुशासन बलियो हुन्छ, कानुनी राज्य बलियो हुन्छ, अनि हामी सबै बलिया बन्छौं। प्रहरी कमजोर हुँदा भने अपराधीको शासन सुरु हुन्छ र समाज नै अपराधीको खेलमैदानमा परिणत हुन्छ।

अब प्रहरीलाई बलियो, सम्मानित र सुरक्षित बनाउन राज्य र समाज दुवैले गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ।

प्रहरी बलियो हुनु भनेको नागरिक र राष्ट्र दुवै बलियो हुनु हो।

जय नेपाल!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय