काठमाण्डौं- पूर्व मिस नेपाल शृंखला खतिवडाले आफूविरुद्ध लागेको आरोपबारे युट्युबर सिसन बानियाँले सार्वजनिक रूपमा स्पष्ट सफाइ दिनुपर्ने बताएकी छन्। जेन–जी आन्दोलनको संवेदनशील समयमा गरिएको टिप्पणीका कारण आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा ठूलो क्षति पुगेको उनको भनाइ छ।

एक कार्यक्रममा बोल्दै खतिवडाले भनिन्, “उहाँको जीवन नै सायद लाइक्स र भ्युजले चल्ने भएर हो कि के हो, मलाई थाहा छैन। तर उहाँ जत्तिको व्यक्तिले त्यस्तो बेला, पहिले नै सल्किसकेको ग्यास वा लिक भएर बसेको ठाउँमा आगो थप्ने काम गर्नुभयो, जुन अत्यन्तै गलत थियो।”

उनले उक्त सामग्री पछि हटाइए पनि त्यसले पारेको असर मेटिन नसक्ने बताइन्। “इन्टरनेटमा एकपटक गइसकेको कुरा डिलिट गरेर पन्छिन मिल्दैन। ममाथि जुन आरोप लाग्यो, त्यसको सफाइ उहाँले नै दिनुपर्छ जस्तो लाग्छ,” उनले भनिन्।

सिसन बानियाँले दिएको माफीलाई पर्याप्त नठहराउँदै खतिवडाले भनिन्, “उहाँले राख्नुभएको अपोलोजी पर्याप्त छैन। मैले नगरेको कुराको लागि जीवनभर सफाइ दिनुपर्ने पीडा मैले भोग्नुपरेको छ। त्यो सही थिएन, र यो कुरा मेरा सहकर्मीहरूलाई पनि सबै थाहा थियो।”

आफ्नो आम्दानीसम्बन्धी गलत विवरण सार्वजनिक गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, “उहाँलाई म ब्रान्डबाट कति कमाउँछु भन्ने कुरा पनि थाहा थियो। मेरो नाम नै १० लाख राखिदिनुभएको थियो, १० लाख नपाए कुनै ब्रान्डसँग सहमति गर्दिनँ भनेर।”

उनका अनुसार, आफूले आम्दानीको स्रोतबारे प्रश्न गर्दा स्पष्ट कुरा नबताइने तर थाहा नभएको विषयमा भने विभिन्न अनुमान र अफवाह फैलाइयो। “कहिले ५० हजार आयो भनियो, कहिले दुई जनालाई दिएको भनियो, फेरि ४० जना भनियो। जनता यति आक्रोशित भएको बेलामा छुस्स केही भेग कुरा बोलेर ‘मैले केही भनेको होइन’ भन्न पाइँदैन,” उनले भनिन्।

खतिवडाले यस्तो प्रवृत्ति देशका लागि नै घातक हुने चेतावनी दिँदै भनिन्, “लाइक्स, भ्युज र सामाजिक सञ्जालको फलोइङलाई नै सबैथोक ठानेर आफ्नो विवेक र जिम्मेवारीलाई साइड लगाउने हो भने, त्यसले कसैको जीवन नै जोखिममा पार्न सक्छ। यस्तो प्रवृत्तिलाई हामीले प्रोत्साहन गर्नु हुँदैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय