दाङ —दाङको गढवा गाउँपालिका–६ खवारीमा लुकिछिपि बाघको छाला ओसारपसार भइरहेको गुप्त सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एकको घरमा प्रहरीले शंकास्पद गतिविधिको निगरानी राखी छापा मारेको हो।

प्रदेश प्रहरी कार्यालय लमहीबाट प्र.नि. रोशन राज पाण्डेको कमाण्डमा खटिएको ८ जनाको प्रहरी टोलीले खवारीस्थित ४१ वर्षीय बिक्रम बुढामगरको घरमा छापा मारेको थियो। छानबिनका क्रममा उनीसँगै गढवा गाउँपालिका–१ गुरुङखोलाका ५३ वर्षीय केशबराज सेन ठकुरी र बर्दिया बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु पनि शंकास्पद अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय गढवा दाङको समन्वयमा सोही घरको माथिल्लो तलाको विस्तृत खानतलासी गर्दा रातो रंगको प्लास्टिकको जेब्राछाप झोलाभित्र लुकाइएको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लामो, ३ फिट २ इञ्च चौडाइ भएको, करिब ४ किलो ३६० ग्राम तौलको पाटे बाघको छाला फेला परेको हो।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय लमही, दाङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय