वीरगञ्ज  — पोषण पूरक औषधि (फुड सप्लिमेन्ट)मा पाँच गुणाभन्दा बढी मूल्य वृद्धि गरेर बिक्री गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२६ निवासी जितेन्द्रप्रसाद कुर्मी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार कुर्मीले भारतको सीमावर्ती बजार रक्सौलबाट फुड सप्लिमेन्ट औषधि सस्तो मूल्यमा खरिद गरी वीरगञ्जमा मनपरी रूपमा मूल्य राखी प्याकिङ तथा बिक्री गर्दै आएका थिए।

“भारतबाट सस्तो मूल्यमा औषधि ल्याई बट्टामा आफूखुसी मूल्य राखेर बेचबिखन गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो,” लम्सालले बताए। प्रहरीले कुर्मीको कब्जाबाट करिब २५ लाख रुपैयाँ बराबरका २१ थरिका फुड सप्लिमेन्ट औषधि बरामद गरेको छ।

प्रहरीले उनलाई कालोबजारी तथा अनियमित कारोबारसम्बन्धी कसुरमा अनुसन्धान जारी राखेको जनाएको छ। औषधिको कृत्रिम मूल्यवृद्धि गरेर उपभोक्तालाई आर्थिक शोषण गर्ने यस्ता कार्यविरुद्ध प्रहरीले निगरानी कडा पारेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय