
काठमाडौँ । महिलाहरूको अश्लील सामग्री उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौँको टोखा नगरपालिका अन्तर्गत ग्राण्डी अस्पताल नजिक बसोबास गर्ने २९ वर्षीय रमेश थापा पक्राउ परेका हुन्।
प्रहरीले जनाएअनुसार असार १३ गते साँझ ५ बजे प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानबाट थापाले नेपाल तथा विदेशमा रहेका नेपाली महिला तथा पुरुषलाई आर्थिक प्रलोभन देखाई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउँदै आएका थिए। साथै, ती क्रियाकलापहरूलाई गोप्य रूपमा रेकर्ड गरी अश्लील तस्बिर तथा भिडियोहरू तयार पारेर अनलाइनमार्फत बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ।
उनविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिम अश्लील सामग्री निर्माण तथा बिक्री वितरणसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। हाल उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।



