बारा — विशेष सूचनाका आधारमा प्रहरीले बाराको परवानीपुर गाउँपालिका–५, बहुअरी टोल नजिक गण्डक नहर सडकखण्डमा चेकजाँचको क्रममा २१२.९२८ किलोग्राम लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरीक्षक खेम प्रसाद नेपाल र इलाका प्रहरी कार्यालय प्रसौनीका टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो पिकअप गाडीलाई रोकेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।

गाडीमा सवार व्यक्तिहरूले “धानको भुस” बोकेको बताएका थिए। तर, शंका लागि तलासी गर्दा गाडीभित्र लुकाएर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–४ का २८ वर्षीय चालक रवि कार्की, टिसटुङ–१२ का ४६ वर्षीय बिरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४ का २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ का ३१ वर्षीय महेश तामाङ रहेका छन्।

पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय