
झापा — झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चौकबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा र इलाम घर भएका व्यक्ति छन्।
गोप्य सूचनाको आधारमा बिहीबार साँझ करिब ४:३० बजे प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले पुष्पलाल चौकस्थित ५९ वर्षीया अमृतमाया लिम्बूको घरमा छापा मारेको थियो। छानबिनका क्रममा प्रहरीले उक्त घरबाट १ केजी ८८२ ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

त्यसैगरी, घटनास्थल नजिकै निर्माणाधीन झोलुङ्गे पुलमा कार्यरत इलाम नगरपालिका–१२ स्याङरुम्बा घर भएका करिब २० वर्षीय रोशन भट्टराईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट ६ ग्राम ६३० मिलीग्राम गाँजा बरामद भएको प्रहरीको भनाइ छ।
दुबै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।



