
काठमाडौं, असार ९ – सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी दिएको अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौँले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना विचौलियालाई पक्राउ गरेको छ। कार्यालयमा सेवा लिन आएका सर्वसाधारणलाई छिटो काम गराइदिने भन्दै अनावश्यक दुःख, हैरानी दिएको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का २९ वर्षीय विकास तामाङ, मकवानपुरगढी गाउँपालिका–१ घर भई चन्द्रागिरि–८ बस्ने २५ वर्षीय सुशील अधिकारी, सर्लाही बरहथवा नगरपालिका–९ का २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ लो, धादिङ थाक्रे गाउँपालिका–२ का २७ वर्षीय मनोज तामाङ र गोरखा सिरानचोक–७ का २४ वर्षीय राजीव खत्री रहेका छन्।

उनीहरू चन्द्रागिरि नगरपालिका–५ स्थित मोटरसाइकल यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा कार्य सम्पादनका लागि आउने सेवाग्राहीसँग गैरकानुनी रूपमा संवाद गरी काम छिटो गराइदिने आश्वासन दिने र त्यस क्रममा हैरानी दिने कार्यमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले यो कार्यलाई सेवा प्रवाहमा हस्तक्षेप गर्ने र सर्वसाधारणको हकमा असर पार्ने आपराधिक क्रियाकलापका रूपमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



