
अछाम — अछामको रामारोशन गाउँपालिकामा भएको कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले झण्डै चार वर्षपछि पक्राउ गरेको छ।
२०७८ साल कात्तिक २१ गते रामारोशन गाउँपालिका–६ को रम्तडा र टुडिसैनबीचको सालघारी भन्ने स्थानमा गगन साउँदको हत्या भएको थियो। घटनापछि फरार रहेका झपड साउँद र कुले साउँदलाई प्रहरीले लामो समयको खोजीपछि पक्राउ गरेको हो। दुवै जना घटनास्थलकै नजिक पर्ने सोही गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार सान्तडा प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई २०८२ साल असार ८ गते साँझ ६ बजे भाटाकाटिया भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरी प्रसाद भण्डारीले पक्राउको पुष्टि गर्दै घटनाको सम्पूर्ण पृष्ठभूमि खोतलिने गरी अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।



