चितवन — चितवनमा पछिल्लो समय चोरीका घटना बढ्दो क्रममा छन्। जिल्ला प्रहरी कार्यालय चितवनमा यस आर्थिक वर्षको वैशाखयता मात्रै चोरीका १८ वटा मुद्दा दर्ता भएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले पछिल्ला दुई महिनामा भएका चोरीका घटनासम्बन्धी विवरण सार्वजनिक गरेको हो। चोरीको अनुसन्धानको क्रममा हालसम्म ३० जना पक्राउ परेका छन्, जसमा ५ जना महिला रहेको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।

सोमबार सार्वजनिक गरिएका पाँच जना आरोपीहरूसँगै बरामद गरिएका मोबाइल फोनहरू सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ। हालसम्म मोबाइल हराएको ३६ वटा निवेदन परेका मध्ये २६ वटा मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको पनि प्रहरीले जानकारी दिएको छ।

चितवनमा स्कुटर, साइकल, मोबाइल, नगद, ल्यापटप, क्यामेरा, सुनलगायतका सामग्री चोरी हुने गरेको पाइन्छ। अधिकांश चोरीमा स्थानीय व्यक्ति संलग्न हुने गरेका छन् भने केही घटना बाहिरी जिल्लाका व्यक्तिहरूको संलग्नतामा भएको पाइएको छ। प्रहरीका अनुसार शनिबार बाहेकका दिनहरूमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा बढी चोरी हुने गरेको छ।

यसैबीच, चितवन प्रहरीले अनलाइन सट्टेबाजी तथा क्रिप्टो करेन्सी कारोबारमा संलग्न दुई जनालाई पनि पक्राउ गरेको छ।

काठमाडौं क्षेत्रमा निगरानी बढेपछि सुरक्षित स्थानको खोजीमा चितवन आएका वानएक्स बेटमार्फत अनलाइन सट्टेबाजीमा संलग्न काभ्रेको बनेपा–३ स्थायी बासिन्दा, हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ बसोबास गर्दै आएका युनिक श्रेष्ठलाई इच्छाकामना गाउँपालिका–४, कुरिनटारबाट पक्राउ गरिएको हो। प्रहरी अनुसन्धानअनुसार श्रेष्ठको खाताबाट अहिलेसम्म १ करोड ८ लाख ११ हजार रुपैयाँको कारोबार भएको खुलेको छ।

त्यस्तै, इच्छाकामना गाउँपालिका–५, शान्ति बजार (मुग्लिन नजिकै) बाट क्रिप्टो करेन्सी कारोबारमा संलग्न विशाल तिवारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले यी दुवै घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय