विराटनगर, असार ९ गते । मोरङ र उदयपुरका विभिन्न स्थानहरूबाट लागू औषधसहित पाँच जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। असार ८ गतेका दिन गरिएको छुट्टाछुट्टै अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी क्याम्पबाट ४१० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका २४ वर्षीय पुष्पलाल डाँगी र २३ वर्षीय अनिल राईलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट ९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ निवासी २९ वर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो।

उता, इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका–५, सिसौलीस्थितबाट शंका लागी चेकजाँच गर्दा २३ वर्षीय पाल्देन तामाङको साथबाट ७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरिएको छ।

यसैबीच, उदयपुरको बेलका नगरपालिका–१, प्रहरी बिट आम्बासीको टोलीले रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको म्याजिक भ्यान चेकजाँच गर्दा, भ्यानमा सवार बेलका–७, मैनामैनी निवासी ३१ वर्षीय धनबहादुर राईको झोलाबाट १२ किलो लागुऔषध गाँजा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।

संबद्ध सबै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय