
काठमाडौं — जन्मदिनको उत्सव हिंसात्मक झगडामा परिणत हुँदा एक युवकले ज्यान गुमाएका छन्।
असार ६ गते शुक्रबार राति काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, टुसालस्थित डेरामा भएको कुटपिट घटनामा बारा, निजगढ–८ निवासी ३२ वर्षीय कृष्ण लामाको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विकास लामाले आफ्नी बहिनीको जन्मदिनको अवसरमा साथीहरूलाई डेरामा बोलाएका थिए। पार्टीका क्रममा मदिरा सेवनपछि सामान्य भनिएको भनाभन अचानक हिंसात्मक झगडामा परिणत हुँदा कृष्णलाई तीव्र कुटपिट गरिएको थियो।
गम्भीर घाइते भएका कृष्णलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै ज्यान गएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा विकास लामा, सुगन्द लामा, सौगात क्षेत्री र निसान जिम्बालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत विवादकै कारण झगडा चर्किएको आशंका गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त्ता एसपी अपिलराज बोहराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।



