काठमाडौं । किर्ते कागजातको आधारमा १० लाख रुपैयाँ बीमा रकम ठगी गर्ने योजनासहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नायब सुब्बा (कम्प्युटर अपरेटर) पशुपति अधिकारीसहित ६ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारबाट फर्किएपछि आत्महत्या गरेकी महिलाको मृत्युलाई विदेशमै भएको देखाएर बीमा रकम असुल्ने प्रयासमा संलग्न रहेको आरोपमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा नासु अधिकारीसँगै मोहन नेपाली, रामबहादुर नेपाली, निरकुमार मल्ल, रामबहादुर तामाङ र कान्छामान तामाङ रहेका छन्। पक्राउ परेका कान्छामान तामाङ वैदेशिक रोजगारबाट फर्किएपछि आत्महत्या गरेकी सोमा थिङका श्रीमान् हुन्।

पुरानै धन्दाको पुनरावृत्ति

सीआईबीका एसएसपी होबिन्द बोगटीका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये नासु अधिकारीसहित चारजना यसअघि पनि यस्तै मुद्दामा पक्राउ परिसकेका थिए। सन् २०७९ मा वैदेशिक रोजगार बोर्डकै सचिवालयमा कार्यरत रहँदा अधिकारीले मिलेमतोमा बीमा रकम ठगी गरेका थिए। सो घटनामा सरकारी वकिल कार्यालयले मुद्दा नचलाई मिलापत्र गराएपछि उनी उन्मुक्त भएका थिए।

तर अहिलेको घटनाको स्वरूप झनै जटिल देखिएको छ।

कसरी गरियो ठगी प्रयास ?

करिब ६ वर्ष युएईमा वैदेशिक रोजगारीमा रहेकी सोमा थिङ नेपाल फर्किएपछि २०७९ असार २५ गते काभ्रेको बनेपामा आत्महत्या गरेकी थिइन्। कान्छामान तामाङ र उनका साथी निरकुमार मल्लले बीमा रकम लिन योजना बनाए तर आत्महत्यापछि एक वर्षभित्र निवेदन दिनुपर्ने म्याद समाप्त भइसकेको थियो।

त्यसपछि गिरोहले नक्कली कागजातमार्फत बीमा रकम दाबी गर्ने षड्यन्त्र बुने। उनीहरूले काभ्रेस्थित रोशी गाउँपालिका–१० को नक्कली पत्र, अध्यागमन विभागको नक्कली प्रवेश–प्रस्थान प्रमाणपत्र तथा श्रम स्वीकृति पुनः जारी भएको देखाउने कागजातसमेत बनाए। त्यही आधारमा मृतक १६ पुस ०८१ मा वैदेशिक रोजगारीमा रहेर कालगतिले मृत्यु भएको भनी बोर्डमा दाबीपत्र पेस गरिएको थियो।

कागजात शंकास्पद भएपछि खुल्यो पर्दाफास

बोर्डले पेश गरिएका कागजात शंकास्पद ठानी रोशी गाउँपालिकामा पत्राचार गर्दा वास्तविकता खुल्यो— सोमा थिङ एक वर्षअघि आत्महत्या गरिसकेकी थिइन्। त्यसपछि वैदेशिक रोजगार बोर्डले सीआईबीलाई अनुसन्धानको आग्रह गर्‍यो।

अनुसन्धानका क्रममा सबै नक्कली कागजपत्र बोर्डमा नासु अधिकारीले नै पेश गरेको देखिएको प्रहरीको दाबी छ। बोर्डभित्रकै केही कर्मचारीको मिलेमतोको आशंका पनि गरिएको छ। घटनासँग सम्बन्धित निवेदन कोले दर्ता गर्‍यो भन्नेबारे बोर्डले हालसम्म स्पष्ट जवाफ दिन सकेको छैन।

पुरानै गिरोह, नयाँ तरिका

यसअघि पनि नासु अधिकारीसहित मोहन नेपाली, रामबहादुर नेपाली र रामबहादुर तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७९ चैतमा यस्तै मुद्दामा पक्राउ गरेको थियो। तर, उनीहरू छुटेका थिए।

नासु अधिकारी हालैसम्म मन्त्रालयमै कार्यरत थिए। उनले वैदेशिक रोजगार बोर्डमार्फत किर्ते गरेर अनेक फर्जी काम गरेको अनुसन्धानकर्ताको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय