
झापा ।नेपाल प्रवेश गर्ने क्रममा हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिलगुढी निवासी ३५ वर्षीय जयप्रकाश कुमार पाठक रहेका छन्।
शुक्रबार साँझ डब्लुबी ७० जी ३२३२ नम्बरको कारमार्फत नेपालतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय काँकड्भिट्टाले गोप्य सूचनाका आधारमा जाँच गर्दा पाठकको साथमा चालु अवस्थामा रहेको एयर पेस्तोल, त्यसमा लाग्ने पाँच राउन्ड गोलीसहितको म्याग्जिन र दुई थान खुकुरी फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार म्याग्जिन खोल्दा एयर बुलेट जस्तो देखिने गोलीहरू फेला परेका छन्। त्यस्तै, चालकको सिटदेखि बायाँतर्फको सिटमुनि दुवै साइडमा एक–एक थान दावसहितको खुकुरी पनि भेटिएको छ।
पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे विस्तृत र सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



