
काठमाण्डौं— धनगढी उपमहानगरपालिका–३ स्थित उल्का गारमेन्ट उद्योगमा असार १ गते राति भीषण चोरी भएको छ। उद्योग सञ्चालक सुरेन्द्र सिंह भण्डारीका अनुसार चोरीमा करिब ८ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको सामग्री हराएको छ।
प्रहरीलाई दिएको लिखित उजुरीअनुसार, चोरहरूले रातको समयमा ताल्चा फोडी उद्योगभित्र प्रवेश गरी तयारी वस्त्रदेखि ल्यापटप र क्यामरा डिभाइससम्मका सामग्री चोरेका छन्। चोरी भएको विवरणमा २८० थान जिन्स पाइन्ट, ७० थान कटराइज पलाजु, ८० थान पलाजु, ९० थान टीसर्ट, २० थान विनचिटर, आठ थान ट्रेक सुट, एक थान ल्यापटप, र एक थान क्यामरा डिभाइस समावेश छन्।

उद्योग सञ्चालक भण्डारीले चोरी भएको घटना तत्कालै सुरक्षाकर्मीलाई जानकारी गराइएको र अनुसन्धानमा सहयोग पुगोस् भनेर आवश्यक कागजातहरू समेत बुझाइएको बताएका छन्।
यसबीच, प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ भने घटनास्थलको सिसिटिभी फुटेज तथा आसपासको निगरानीलाई प्राथमिकतामा राखिएको छ।



