काठमाडौँ, असार १ – अमेरिका र बेलायत पठाइदिने भन्दै आकर्षक तलबको लोभ देखाएर ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोटको विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन्।

प्रहरीका अनुसार राजकुमारले अमेरिका पठाइदिने भन्दै तीन जना व्यक्तिबाट रु ३५ लाख ६९ हजार ठगेका थिए भने ओमबहादुरले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु ६ लाख ७५ हजार लिएका थिए। रकम लिएको केही समयपछि दुबैले सम्पर्कविहीन हुँदै आएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले राजकुमारलाई काठमाडौँ–१६ बाट र ओमबहादुरलाई काठमाडौँ–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ भने ओमबहादुरलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय